शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानको समुद्रीकिनार नजिकै फेला परेको शव चितवनकी आरती खनालको रहेको पुष्टि भएको छ । मे ८ मा फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालकी चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको हो ।

सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डिएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको सत्यतथ्य खोजीमा सक्रिय एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारी जानकारी दिइन् । अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासँग मिल्ने शव फेला परेको थियो ।

प्रहरीले डिएनए परीक्षणका लागि अस्पतालमा लगिएकोमा उक्त शव बेपत्ता खनालको रहेको पुष्टि भएको हो । ‘आरती बहिनीको डिएनएसँगै लगाएको लुगा, साइकल चाबी र मोबाइल सेट र सेटमा रहेको सिम आरती कै भएको पुष्टि भएको छ,’ उपाध्यक्ष अधिकारीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘यो निधनमा आशंका गर्ने ठाउँ धेरै रहेकोले यसलाई यतिकै छोड्ने अवस्था छैन । अहिले हामी परिवारसँग नियमित सम्पर्कमा छौँ ।’

उनले सत्यतथ्य खोजीमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् । ‘परिवारसँगै सत्यतथ्य खोज्नको लागि म मेरो तर्फबाट कुनै कसुर नछोडी लाग्ने छु । तर यसक्रममा सक्नु हुन्छ भने सबै जनाको सहयोगको अपेक्षा गरेको छु । तर हतोत्साहित गर्ने काम नगर्न अनुरोध गर्दछु’ उपाध्यक्ष अधिकारीले भनिन् ।

आरती ओसाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १-३-२ मा रहँदै आएकी थिइन् । चितवनको भरतपुर महानगरपालिका-१२ स्थायी घर भएकी २३ वर्षीया उनी १० महिना अगाडि विद्यार्थी भिसामा आएकी थिइन् ।

तपाईको प्रतिक्रिया