काठमाडौं – सरकारले राजाको हिउँदे दरबारलाई गणतन्त्र दिवसको दिनदेखि खुला गर्ने तयारी गरेको छ । पोखराको लेकसाइडस्थित रत्न मन्दिर र हिमागृहको नाममा रहेको उक्त दरबार जेठ १५ देखि खुला गर्ने तयारी गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रत्नमन्दिरको अवलोकन गर्दै गणतन्त्र दिवसबाट खोल्ने बताए । रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न पोखराका स्थानीय, व्यवसायीहरूले माग गर्दै आएका थिए । रत्नमन्दिर परिसर पर्यटकहरूका लागि पनि नयाँ गन्तव्य बन्ने विश्वास पाण्डेको छ ।
उनले यस्ता ऐतिहासिक सम्पदा, पुरातात्त्विक महत्त्व बोकेका संरचनालाई संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड्नुपर्ने बताए । मन्दिरको मुख्य भाग खुल्ला गर्न भने प्राविधिक समस्या रहेको जानकारी नेपाल ट्रस्टले गराएको छ ।
त्यहाँ भित्र के कस्ता सामग्रीहरू छन् भन्ने बारेमा परिसरमा पुगेका सर्वसाधारण, पर्यटकहरूलाई मुख्य मन्दिर खुला गर्न सहज नहुँदा सम्म अन्य कुनै माध्यमबाट मन्दिर भित्रको वस्तुस्थिति देखाउने व्यवस्था गर्न स्थानीयले माग गरेका छन् । पटक पटक मन्दिर खुला गर्ने आश्वासन मात्रै आउने र नखुल्ने परम्परा अब तोडिने भएको छ ।