शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – चिया नेपालीको संस्कार हो । विशेषगरी कालो, दूध र कागती चिया बढी प्रचलनमा छ । अव्यवस्थित पिउँदा दूधचियाले स्वास्थ्यमा असर पनि पार्न सक्छ । तर, चिया अरू पनि हुन्छन् । जस्तो कि ग्रिन टी, पुदिना टी आदि । यहाँ ग्रिन टीबारे चर्चा गरिएको छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

ग्रिन टी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । ग्रिन टीमा पाइने एन्टिअक्सिडेन्टले सम्भावित कैयौँ रोगबाट बचाउने गर्छ । त्यसैले दिनमा ४–५ पटक यसको प्रयोग गर्दा लाभदायक हुन्छ । ग्रिन टीमा भएको एन्टिअक्सिडेन्ट नामक तत्वले मुटुरोग, क्यान्सर, कोलेस्ट्रोललगायतलाई केही हदसम्म नियन्त्रण गर्ने काम गर्छ ।

ग्रिन टीको एन्टिअक्सिडेन्टले क्यान्सरको सेललाई मार्ने पनि काम गर्छ । यसले विशेषगरी ब्रेस्ट, ब्लाडर, ओभरीयन, थ्रोट, लङ, प्रोस्टेट र पेटको क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्छ । दैनिक ग्रिन टी सेवन गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।

यसले शरीरको नर्भ सिस्टमलाई पनि सक्रिय बनाउन मद्दत गर्छ । जसका कारण मानिस रिफ्रेस हुन र सक्रिय रहन सहयोग गर्छ । त्यस्तै, दैनिक ५ कप ग्रिन टी प्रयोग गर्ने मानिसलाई पनि मुटुरोगको सम्भावना धेरै हदसम्म कम भएर जान्छ ।

ग्रिन टीको कारण कोलेस्ट्रोल बढ्ने सम्भावना कम हुने भएकाले यसले तौल घटबढ हुन पनि दिँदैन । त्यसैले शारीरिक सन्तुलनका लागि पनि यसको प्रयोग गर्दा हुन्छ । यसले छालासम्बन्धी रोगबाट पनि बचाउन मद्दत गर्छ ।

ग्रिन टीलाई स्मरणशक्ति बढाउनका लागि पनि प्रयोग गरिन्छ । किनकि, यसले ब्रेन फङ्सनलाई एक्टिभ बनाउने काम गर्छ । यसले अल्जाइमर हुनबाट पनि जोगाउँछ । ग्रिन टीले दाँतलाई बलियो बनाउन भूमिका निर्वाह गर्छ । दाँत कमजोर छ भने पनि ग्रिन टीको प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया