काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधि सभाको बैठकमा विदेश जाने विद्यार्थीले लैजाने ठूलो रकमको आँकडा प्रस्तुत गरे ।
प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षको पहिलो नौ महीना (साउन–चैत)मा विदेशका विश्वविद्यालय तथा कलेजमा पढ्न गएका नेपाली विद्यार्थीले ६७ अर्ब १९ करोड रुपैयाँ लगेको बताए । प्रधानमन्त्रीले बिहीबार संसद्मा प्रस्तुत गरेको तथ्याङ्क नेपाल राष्ट्र ब्यांकले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।
केन्द्रीय ब्यांकका अनुसार यो वर्ष हरेक दिन औसतमा झन्डै २५ करोड रुपैयाँ विदेश गइरहेको छ, नेपाली विद्यार्थी मार्फत । यो रकम गत वर्षको भन्दा ५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो नौ महीना (साउन-चैत)मा विदेश पढ्न जाने विद्यार्थीले ४३ अर्ब ६७ करोड रुपैयाँ मात्रै लगेका थिए ।
पछिल्ला वर्षमा नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको क्रम बढ्दै गएको छ । कोभिड-१९ का वेला रोकिएको भए पनि महामारी मत्थर भएसँगै तीव्र बनेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महीना (साउन–चैत) मा विदेश पढ्न गएका नेपाली विद्यार्थीले ६७ अर्ब १९ करोड रुपैयाँ लगेका छन् । यो गत वर्षको यही अवधिका तुलनामा ५४ प्रतिशत धेरै हो ।