बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – जापानको मियागी प्रान्तस्थित कुरीहारामा यही मंगलबार दुई नेपाली विद्यार्थीले ज्यान गुमाए । ४० नेपाली विद्यार्थीसहित अन्य सवार बसमा खराबी आएपछि सडक छेउमा रोकिएको थियो । बसको आएको खराबीबारे चालकसँगै हेर्दैगर्दा ट्रकले ठक्कर दिँदा ओखलढुंगा चिशंखुगढी गाउँपालिका २ का २७ वर्षीय युवराज थापा र काभ्रे भुम्लु गाउँपालिका ९ का २२ वर्षीय नवराज तामाङले ज्यान गुमाएका हुन् ।

कुरीहारास्थित तोहोकु एक्सप्रेस वे’मा बसमा धुवाँ आएपछि रोकेर मर्मत गर्न लागिएको थियो । ‘युवराज बस मर्मत गरिरहेकी चालकलाई लाइट देखाइरहेका थिए’ भन्ने सुन्नमा आएको मृतकका काका तोरणबहादुर थापाले बताए । युवराज जापान आएको जेठ २ गते एक वर्ष भयो । युवराज घरका एक्ला छोरा हुन् ।

काभ्रेका नवराज तामाङ गत कात्तिकमा मात्र जापान आएका थिए । उनका दाइ दाइ दुर्गा तामाङले बताएअनुसार ‘नवराज पनि चालकलाई सहयोग गर्न बसकै छेउमा उभिएका थिए । दुर्घटनामा परी बसकी चालकको पनि मृत्यु भएको छ । मृतक दुई जनाको शव नेपाल लैजाने  प्रक्रिया चलिरहेको छ ।

तपाईको प्रतिक्रिया