शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – निजी तथा कर्पोरेट अफिसहरुमा कर्मचारीहरुलाई निश्चित कार्यसम्पादन लक्ष्य दिइन्छ । तर कहिलेकाहीँ विभिन्न कारणले गर्दा आफूलाई दिइएको टार्गेट पूरा गर्न कर्मचारीहरु असमर्थ पनि हुने गर्छन् ।

कार्यसम्पादनमा आधारित तलब भत्ता प्रदान गर्ने अफिसहरुले लक्ष्य अनुरुपको काम गर्न नसक्ने कर्मचारीहरुको तलब भत्ता तथा बढुवा समेतमा कैँची चलाउने गर्दछन् । तर दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ उत्कृष्ट काम गर्न नसक्ने कर्मचारीहरुले थप्पड खानुपर्छ । तर त्यस्तो थप्पड हाकिमबाट खानुपर्ने भने होइन । राम्रो काम गर्न नसकेका कर्मचारीहरुले एक अर्काको गालामा चड्कन लगाउँछन् ।

यस्तो अनौठो तथा हिंश्रक लाग्ने नियम हङकङको एक बिमा कम्पनीले लागू गरेको हो । सो कम्पनीका टार्गेट पूरा नगर्ने कर्मचारीहरुले एक अर्कालाई थप्पड हानेको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । उक्त फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रिया जनाएका छन् ।

नियमानुसार उक्त कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने डिनरका बेला टार्गेट पूरा गर्न नसक्ने कर्मचारीहरुले एक अर्काको गालामा थप्पड हान्दछन् । यो पटक सो कम्पनीका करिब एक दर्जन त्यस्ता कर्मचारीले थप्पड खानु परेको छ जसले टार्गेट अनुसारको विमान पोलिसी बेच्न सकेनन् । कम्पनीमा कर्मचारीहरुलाई उत्प्रेरित गर्न भन्दै त्यस्तो नियम लागू गरेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया