मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

वैदेशिक रोजगारीमा कार्यरत आमाबाबुहरुका लागि हुर्कदों उमेरका आफ्ना नानीबाबुहरुलाई कहाँ पढाउने, के पढाउने भन्ने पिरलोले सँधै सताउने गर्दछ । कसैको जिम्मा लगाएर नेपालमै पढाउन पनि बाबुआमाको माया चाहिने बेलामा छुट्टिएर बस्न त्यति सजिलो छैन, बिदेशमै ल्याएर संगै राखेर पढाउन पनि भनेजस्तो सहज छैन । जापानकै कुरो गर्नुपर्दा जापानी स्कुलमै पढाउने हो भने पनि भाषा, सँस्कृति लगायतका बिषयले गर्दा निकै सोच्नुपर्ने हुन्छ । होईन अंग्रेजी माध्यममा पढाई हुने इन्टरनेशनल स्कुलमा पढाउने हो भने पनि आफुलाई पायक पर्ने ठाउँमा त्यस्तो स्कुल नहुन पनि सक्छ, भईहाले पनि त्यति सजिलै भर्ना नपाईन सक्छ भने अर्कोतिर आफ्नो कमाईले स्कुलको खर्च नधान्न पनि सक्छ । यी सबै परिस्थितिहरुको सामना गर्दै जापानमै पढाउने हिम्मत बटुलेर कतिपय अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई नेपालबाट बोलाईरहनु भएको पाईन्छ ।

तर दुखको कुरो अपवादबाहेक हाम्रा अधिकाँश अभिभावकहरु आफ्ना नानीबाबुहरुलाई के पढाउने र कहाँ पढाउने भन्ने मै चरम अलमलमा देखिनुहुन्छ । आफ्ना सन्तानको भविष्यसंग जोडिएका यस्ता संवेदनशील बिषयमा हाम्रा अभिभावक वर्ग अलि बेलैमा चिन्ता र चासो राख्ने, सम्बन्धित बिषयका ज्ञाताहरुसंग परामर्श लिने, आवश्यक परे सशुल्क भए पनि विज्ञहरुबाट परामर्श लिने गर्नुपर्दछ । आफ्ना नानीबाबुहरुको रुची, स्वभाव, क्षमता र अभिभावकको सामर्थ्यअनुसारको शिक्षा हासिल गर्ने भन्ने कुरो अत्यन्त महत्वपूर्ण बिषय हो । तर हामीकहाँ यसलाई अत्यन्त हलुकारुपमा लिने गरिएको पाईन्छ । अझ विदेशमा हुने अभिभावकहरु अधिकाँशको चाहना त आफुजस्तै विदेशमा बसेर बेलैमा कमाउन सुरु गरुन् भन्ने देखिन्छ । तत्कालका लागि त्यो ठीकै देखिए पनि कालान्तरमा उनीहरुको न त करियर बन्छ, न त हातमा कुनै शैक्षिक प्रमाणपत्र रहन्छ । शारीरिक श्रम गर्ने मजदुरी काम बाहेक आजीवन उनीहरु कहिंकतै फिट हुन सक्दैनन् । यो वास्तविक तथ्यलाई ध्यानमा राखी आफ्ना काँचो माटो सरहका नानीबाबुहरुको भविष्यको रेखा कोर्ने गहन जिम्मेवारी अभिभावकहरुकै हो । यो अत्यन्त महत्वपूर्ण बिषय हो ।

पछिल्लो समयमा हामीलाई सँधै एउटा चिन्ताले भने निकै गिजोल्ने गरेको छ । हाम्रा नानीबाबुहरु कामकाजी भएनन्, ब्यवहारिक ज्ञानको अभाव देखियो, चाहिनेभन्दा बढि यान्त्रिक भए । टोलछिमेक, इष्टमित्र, को आफन्त, को पराई चिन्दैनन्, चिन्ने रुची पनि राख्दैनन्, आफ्नो जिम्मेवारी के हो हेक्का छैन, वाइफाइ, इन्टरनेट र साथी भए अरुको सरोकार छैन । हाम्रा नानीबाबुहरुलाई विद्यालय शिक्षाबाट ठूलालाई सम्मान र सानालाई माया गर्नुपर्छ, आफ्नो वरिपरि आफै सफासुग्धर राख्नुपर्छ, आफ्ना लुगाफाटाको हेरचाह आफै गर्नुपर्छ भन्ने हेक्का राख्न सक्ने बनाउन के गर्नुपर्ला ? यो फेरि अर्को सोचनीय बिषय बन्दै गईरहेको छ ।

वैदेशिक रोजगारीका कारण कतिपय अभिभावक विदेशमा हुनु, आफ्ना नानीबाबुको पठनपाठनको जिम्मा अरु कसैलाई सुम्पनु, उनीहरु संगै नहुँदाको परिणामस्वरुप भावनात्मक आत्मियतामा कमी आउनु, आफ्ना सन्तानको बाल्यावस्थामा आफुसंगै हुनु र नहुनुमा आकाश जमिनको फरक बारे भेउ नपाउनु, उनीहरुको बालमनोविज्ञानलाई समयमै बुझ्न नसक्नु, हुर्कदै गरेका आफ्ना सन्तान रहेबसेको ठाउँ, छरछिमेक, वातावरण र उनीहरुका साथीसंगतीबारे नियमित अपडेट हुनुपर्छ भन्ने बारेमा ज्ञान नहुनु जस्ता कारणहरु अभिभावकीय पक्षका कमजोरी हुन सक्छन् जसले गर्दा हाम्रा नानीबाबुहरु हामीले अपेक्षा गरेअनुसारका भएनन् । तर उनीहरुलाई दोषारोपण गर्ने भने कुनै ठाउँ छैन । नेपाली समाजमा देखिएको यो एउटा तीतो सत्य र बहसको बिषय हो । यसमा सुधारको सुरुवात आफैबाट गर्नुपर्ने देखिन्छ ।

जस्तोसुकै अवस्थामा पनि आफ्ना सन्तान आफ्नै काखमा हुर्काउनु सबैभन्दा बुद्धिमानी हो । सन्तान भनेको चौपाय हैनन् जो पालनपोषण र हुर्काउनका लागि अरुलाई जिम्मा लगाईन्छ । आफैले हुर्काएको आफ्ना सन्तान र अरुको जिम्मा लगाएर हुर्काएको आफ्ना सन्तानमा हरेक हिसाबले धेरै फरक हुने अनेकौं अध्ययनहरुले देखाएका छन् । कम्तीमा पनि माध्यामिक शिक्षासम्म बाबुआमाले आफ्ना सन्तान आफ्नै रेखदेखमा हुर्काउने, बढाउने र पढाउने सँस्कारको बिकास हुनु वाञ्छनीय छ । ***

तपाईको प्रतिक्रिया