बिहिबार, जेठ ३१, २०८१
Thursday, June 13, 2024

कांग्रेसमा देउवाको एकपछि अर्को असहयोग वा असंयोजनकारी गतिविधिबाट पीडित नेतामध्येका एक हुन्, गुरुराज घिमिरे । उनी तिनै नेता हुन्, जसले नेविसंघको अध्यक्ष हुँदा ०६२/६३ को जनआन्दोलनको नेतृत्व गरे । उनका महामन्त्री गगन थापा थिए, उनी त्यही जनआन्दोलनबाट राष्ट्रिय नेताका रूपमा स्थापित भए । गुरुचाहिँ स्थापित हुनुपर्नेमा तुलनात्मक रूपमा विस्थापित । राम्रो राजनीतिक विश्लेषकको परिचयसमेत बनाएका मोरङवासी घिमिरे पछिल्लो समय राजनीतिबाट बिरक्तिएका जस्ता अभिव्यक्ति दिन्छन् । उनलाई चिन्ता पनि छ- देश कुलीनतन्त्रमा जाने । अब नेपालका राजनीति कसरी अगाडि बढ्ला ? नयाँ र पुराना पार्टीको भविष्यका विषयका केन्द्रित रहेर उनै घिमिरेसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश:-

कांग्रेसको राजनीतिमा लागेर किनारामा पारिएको एक जना बौद्धिक नेता तपाईँ, यहाँको दिनचर्या कसरी चलिरहेको छ ?
एउटा अठोट, संकल्पले राजनीतिमा लागेका व्यक्तिमा हामी पर्छौं । बालिग नहुँदै राजनीतिमा होमियौं । महान् उद्देश्य बोकेर राजनीतिमा होमिएका हौँ । हाम्रा अग्रज नेताहरू संघर्ष, योगदानबाट अभिप्रेरित भएर राजनीतिमा लाग्यौँ । परिणाम पनि प्राप्त भयो, प्रणाली बदल्यौँ । पञ्चायत गयो, प्रजातन्त्र पुनःस्थापना भयो । त्यसयता पनि धेरै संघर्ष भए । निरन्तर योगदान दिइरहेका मजस्ता हजारौं साथी देशभर छन् । हाम्रो चिन्ता यो प्रणालीको जग बलियो होस्, यसले आफ्नो मर्मअनुसार देश र जनताको हितमा काम गरोस् । देशको प्रतिष्ठा उचाइमा पुगोस् र भौतिक विकास होस्, देशका नागरिकले गौरवसाथ म नेपाली हुँ भन्ने ठाउँमा पुगोस् भन्ने हाम्रो सपना, चाहना तर त्यो दिशामा मुलुक छैन । त्यही कारण चिन्ता लाग्छ र हामी नेताहरूका गल्ती, कमजोरी औँल्याउँछौं । कुशल नेतृत्व, जनताको साथ, छिमेकीसँगको सुमधुर सम्बन्ध भएन भने मुलुक अगाडि बढ्दैन । यो देश अगाडि नबढेको देख्दा कहिलेकाहीँ चिन्ता पनि लाग्छ । म लेखनमा पनि समय दिन्छु । समयको अभाव छैन, फालाफाल पनि छैन मेरा लागि । हामीले लोकतन्त्र दिवसको अवसर पारेर एक अभियान पनि थालेका छौं ।

राजनीतिक दलले आफूलाई सुधार गरेर जनताको अगाडि एकदमै शिर निहुर्‍याएर नतमस्तक भएर अब आइन्दा त्यस्तो गल्ती गर्दैनौं भनेर वाचाबन्धन गरेर व्यवहारमा दलहरू सुध्रिएको देखिनुपर्छ । ०६२/०६३ मा जस्तो बोल्दिएर मात्र पुग्दैन । मौका पुराना राजनीतिक दलहरूसँगै छ तर, यो मौका अन्तिम हुन सक्छ ।

तपाईँको अभियान केका लागि ? कार्ययोजना प्रस्ट पार्दिनुस् न ? 
नेपाली समाजले उन्नति, प्रगति र सुखशान्ति र भौतिक समृद्धिको बाटो समातोस् भन्ने जनताको मुख्य चाहना थियो । तर २०४६ र २०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिले जुन बाटो समात्नुपर्थ्यो, त्यो लय पक्रन सकेन । यसबीचमा राजनीतिक दलहरूबाट धेरै भुल भएका छन् । राजनीतिक परिवर्तनसँग जनताका भावना जोडिएका थिए तर, राजनीतिले त्यतातर्फ पाइला नै मोडेन । अब राजनीतिक दलहरूका लागि अन्तिम मौका छ । त्यसकारण मैले देशव्यापी रूपमा अन्तरक्रियात्मक कार्यक्रम लिएर जाने योजना बनाएको हुँ । मेची-महाकाली यात्रामा विभिन्न दलका साथीहरूसँग भेट्नेछु । आफ्नो पार्टी नेपाली कांग्रेसका साथीहरू सँगसँगै यो पछिल्लो कालमा उदाएका सबै साथीहरूसँग भेट्न र छलफल गर्ने यसको उद्देश्य हो । राजनीतिक दललाई दबाब पुगोस् भन्ने हेतुले यो अभियान सुरु गर्न लागिएको हो ।  अब पनि हामीले सही ‘ट्याक’मा मुलुकलाई अघि बढाउन सकेनौं लोकतन्त्रलाई ‘ब्याक टु द ट्याक’ गर्न सकेनौं भने यो कुलिनतन्त्रमा परिणत हुन्छ । कुलिनतन्त्रमा नाता र पैसाबाहेक अरू कुनै कुराले काम गर्दैन ।तपाईँ राजनीतिबाट बिरक्तिएको हो ? अभियानमा लाग्नु भयो नि !
मान्छेहरूले हेर्ने, बुझ्ने आफ्नो आफ्नो दृष्टिकोण हुन्छ । कस्ता गतिविधिलाई सक्रिय भएको कस्ता गतिविधिलाई निष्क्रिय भएको भनेर हेर्ने कुरा मान्छेको नजरमा भर पर्छ । म अहिले एकदमै उत्साहित छु, बिरक्तिएको पटक्कै छैन । मान्छेको शैली भने फरक हुन सक्छ । मेरो यो शैली मात्रै हो, म राजनीतिबाट बिरक्तिएको छैन । निकै उत्साहित छु ।  किनभने देशको अहिलेको परिस्थितिबाट मुक्त गर्नको लागि केही न केही गर्नुपर्छ । अहिलेको वर्तमान मौजुदा स्थितिबाट मुलुकलाई, अहिलेको लोकतन्त्र र आफ्नो पार्टी नेपाली कांग्रेसलाई माथि उठाउनका लागि केही न केही गतिविधि गर्नुपर्छ भनेर नै म लागिरहेको छु ।

मूलधारको राजनीतिलाई वैकल्पिक शक्तिले चुनौती दिइरहेका छन् । यसलाई कसरी हेर्न सकिन्छ ? 
पुराना दलले आफूलाई आमूल रूपमा सुधार गर्नुपर्छ । बारम्बार उठेको प्रश्न ०६२ को जनआन्दोलनपछि हामी सुध्रिन्छौँ, सुशासन दिन्छौँ भनेर जुन प्रतिबद्धता व्यक्त गरेका थियौँ सोअनुसार गणतन्त्र आएपछि राजनीतिक दल चल्न सकेनन्चा/हेनन् । जनतामा निराशा बढ्यो । देश विकासले  गति लिन सकेन । युवा विदेश पलायनको घटना निरन्तर बढिरहेको छ । आर्थिक संकट बढ्ने, बेरोजगारी बढ्ने घटना निरन्तर बढिरहेको छ । परम्परावादी शक्ति पनि उत्साही छ । नयाँ प्रणाली सफल नभएपछि पुराना शक्तिले टाउको उठाउनु, अगाडि बढ्न खोज्नु स्वाभाविकै हो । अहिले नयाँ शक्तिको उदय भएको छ । राप्रपाको जनमत विस्तार भएको छ । पुराना दलले जनभावनाअनुसार काम गर्न नसक्दा नयाँ शक्तिको उदय हुनु, पुराना शक्तिले टाउको उठाउन खोज्नु स्वाभाविक हो । यो प्रणालीलाई हामीले सफल बनाउन सकेनौँ भने या त नयाँ शक्ति उदय हुन्छ वा त पुराना शक्तिले टाउको उठाउन खोज्छ । त्यसलाई पनि कसैले तल पुर्‍याउन सक्दैन । त्यही कारण राजनीतिक दलले आफूलाई सुधार गरेर जनताको अगाडि एकदमै शिर निहुर्‍याएर नतमस्तक भएर अब आइन्दा त्यस्तो गल्ती गर्दैनौं भनेर वाचाबन्धन गरेर व्यवहारमा दलहरू सुध्रिएको देखिनुपर्छ । ०६२/०६३ मा जस्तो बोल्दिएर मात्र पुग्दैन । मौका पुराना राजनीतिक दलहरूसँगै छ तर, यो मौका अन्तिम हुन सक्छ ।

तर भर्खरै उदाएका नयाँ शक्ति पनि पुराना पार्टीको पदचिह्नमा हिँड्न थालेको देखिन्छ ?
हामीले अहिले यति उर्वर भूमि तयार पार्दैछौं कि यहाँ कसको राजनीतिक जेट आएर बस्छ भन्न सकिन्नँ । राजनीतिक दलहरू सुध्रिए, नयाँ पार्टीहरू झन् ठिक भएर आए भने लोकतन्त्रमाथि संकट पैदा हुँदैन । तर पुराना पार्टी सुध्रिएनन् र नयाँ ठिक मात्र भए भने पुराना पार्टी बाँच्दैनन् । पुराना पार्टीको पदचिह्नमा नयाँ पार्टी पनि हिँड्न थाले भने प्रणाली बाँच्दैन । अहिले एकथरी सत्तामै मग्न छन्, एकथरी सत्तामा जाने दिन गनेर बसेका छन् । यो भन्दा हाम्रो चासो र प्राथमिकता केमा छ ? केहीमा पनि छैन । अन्तस्करण खुलेर तिमीहरू ‘यो बाटो हिँड्दैछौ, यो बाटो हिँड’ भनेर कसैले त भनिदिन प-यो नि !

पार्टीको निर्णयका आधारमा कार्यकर्ताकाे भविष्य पनि अडिएको हुन्छ । दल केन्द्रित पनि होइन, आत्मकेन्द्रित राजनीति फस्टाउँदो छ । बहुदलीय व्यवस्थामा आत्मकेन्द्रित प्रवृत्ति हाबी छ, यसले कहाँ पुर्‍याउँछ? यसले लोकतन्त्रको हुर्मत लिएको छ ।

पछिल्लो समय किन नेपाली राजनीतिमा यति धेरै निराशा छायो ?
हामीले राजनीतिलाई राजनीति जस्तो बन्नै दिएनौं । राजनीतिक दललाई व्यापारिक कम्पनीजस्तो रूपमा मात्रै बनायौं । यो नेपाली कांग्रेसको मात्रै कुरा होइन, नेपालका सबै राजनीतिक दलको अवस्था त्यस्तै छ । राजनीतिक दलका गतिविधिले नै  राजनीतिलाई स्वस्थ र स्वच्छ बनाउने हो । हाम्रा गतिविधिहरू अहिलेको राजनीतिलाई स्वच्छ बनाउने खालका पटक्कै छैनन् । हाम्रो निर्णय गर्ने प्रक्रिया नै प्रदूषित छ । पार्टीको निर्णय भनेको आम सदस्यको चासोको विषय हो । त्यो निर्णयले कार्यकर्ताको जीवन पनि जोडिएको हुन्छ । तर, यहाँ निर्णय सीमित नेताहरूका लागि ख्याल ठट्टाको विषय बन्ने गरेको छ । पार्टीको निर्णयका आधारमा कार्यकर्ताकाे भविष्य पनि अडिएको हुन्छ । दल केन्द्रित पनि होइन, आत्मकेन्द्रित राजनीति फस्टाउँदो छ । बहुदलीय व्यवस्थामा आत्मकेन्द्रित प्रवृत्ति हाबी छ, यसले कहाँ पुर्‍याउँछ? यसले लोकतन्त्रको हुर्मत लिएको छ । जस्तो एक जना कार्यकर्ता कुनै ठाउँमा उम्मेदवार बन्न खोज्दै गर्दा पार्टीका केही नेताहरूले गठबन्धनको नाममा फलानो ठाउँ अर्को पार्टीलाई छाडिदिने भनेर निर्णय गर्दा वर्षौदेखि राजनीतिक लगानी गरेको कार्यकर्ता त मारमा पर्छ । त्यसैले नेताहरूको लागि ख्याल ठट्टाको विषय बन्दै गर्दा कार्यकर्ताको लागि नियति बन्ने गर्छ ।

नेपाली कांग्रेसको नेतृत्वले त सबै आफ्नै ग्रिपमा छ, सबैभन्दा सहज ठाउँमा छ भन्ने दाबी गर्छ त ?
सबै कुरा नेपाली कांग्रेसको ग्रिपमा छ भन्ने कुरा प्राविधिक मात्रै हो । मान्छे कति निराश छन् भन्ने कुरा तपाईँले नै केही व्यक्तिलाई सोध्दा प्रष्ट भइहाल्छ ।  अहिलेको राजनीतिक कसरी चलिराख्या छ भन्ने कुरा सीमान्तमा रहेको जनतालाई सोध्नुस् ।  उहाँहरूलाई तिमी सरकारबाट सन्तुष्ट छौं, तिमी अहिलेका राजनीतिक दलहरूबाट सन्तुष्ट छौं भनेर सोध्नुस् त, कुरा बुझिहाल्नुहुन्छ नि । नेपालबाट वार्षिक पाँच लाख युवाहरू रुवावासी गर्दै एयरपोर्टबाट बिदेसिएका छन् । अहिले बालबच्चाहरू विदेश जाने क्रम बढ्दै गइराख्या छ । अहिले झन्डै ६० लाख नेपाली विदेशमा छन् । ऊर्जाशील समय नेपालमा बिताउनुपर्ने थियो, उनीहरू अहिले विदेशमा छन् । ती ऊर्जाशील व्यक्तिहरू देशमै बसेर केही न केही काम गर्दा मात्रै देश विकास हुन्छ । तर विडम्बना यहाँको अहिलेको अवस्थाका कारण मानिसहरू आत्तिएका छन् । कोरियाको उदाहरण दिने हो, भने त्यहाँ राष्ट्रिय राजमार्ग बनाउँदा २० हजार नर्सलाई जर्मनीमा पठाएर कमाउन लगायो र उनीहरूले कमाएको पैसा राष्ट्रले ऋण लिएर राजमार्ग बनायो । अहिले नेपालमा विप्रेषण आइरहेको छ । तर त्यो हाम्रो राज्यले सदुपयोग नै गर्न सकेको छैन । विदेशमा नेपालीले कमाएको पैसा नेपालमा लुगाफाटा र विलासिताका सामान किन्दामै खर्च भएको छ, यहाँ त सदुपयोग नै हुन सकेको छैन ।  नेपालमा लगानीको कुनै सुरक्षा नै छैन । बाहिर आफ्ना नागरिकले कमाएको पैसा त राज्यले सदुपयोग गर्न सक्छ तर यहाँ त्यो पनि छैन ।  नेपालमा बेरोजगारीको अवस्था त्यत्तिकै छ, औद्योगिकीकरण छैन । कृषिमा आधुनिकीकरण छैन । किसानहरू अहिले पनि निर्वाहमुखी खेती गर्न बाध्य छन् । राजनीतिक दलहरूभित्र पनि एउटा समझदारी छैन । दल दलका बिचमा राष्ट्र बनाउने कुरामा कुनै पनि कुरा मिल्दैन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म जापानकै उदाहरण दिन्छु, वर्षैभरि भुईँचालो जाने देश कसरी विकसित भयो ? असंख्य अर्थात् हजारौं टापुहरूको संग्रह हो जापान । दोस्रो विश्वयुद्धमा अमेरिकाद्वारा परमाणु बम प्रहार भएपछि ध्वस्त भएको जापानी अर्थतन्त्र कसरी ‘रिकभर’ भयो, गहिरो अध्ययनको विषय हो । जापानले सन् १९४५, अगष्ट १४ मा आत्मसमर्पण गरेपछि दोस्रो  विश्वयुद्धको अन्त्य भयो । जापानका अगाडि कहालीलाग्दो क्षतविक्षत चित्र थियो । यसपछि युद्धले छाडेको मनोवैज्ञानिक त्रासदीका अतिरिक्त ठूलो भौतिक क्षतिलाई चिरेर जाने चुनौती । यी सबै कटु यथार्थ झेलेर पनि जापानले द्रुतगतिमा विकास हासिल गर्‍याे । यसका निम्ति प्रधानमन्त्री सिगेरु योशिदा र सम्राट हिरोहितोको ठूलो योगदान छ । यो सबै नेतृत्व कुशलता हो । नाम चलेका अटोमोबाइल र इलेक्ट्रोनिक कम्पनीहरुबाट उत्पादन भएका वस्तुले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । यसको कारण अरू केही होइन, केवल राजनीतिक नेतृत्व हो । सँगसँगै जनताको कठोर परिश्रम । जनतालाई कठोर परिश्रम गर्न केले प्रेरित ग-यो त भन्दा, नेतृत्व प्रतिको भरोसाले । अहिले नेपाली जनता कठोर परिश्रम गर्दैनन् किनकि नेतृत्व भरपर्दो छैन । यसो भन्दा कसैले चित्त नदुखाए हुन्छ । हामी भने बारम्बार अवसर पाउँदा पनि चुकेका छौं । त्यसकारण पार्टीहरूले आत्मसमीक्षा, आत्मस्वीकारोक्ति र सुधारको प्रतिबद्धता गर्न जरुरी छ । म भन्छु- सुध्रिऔं, नत्र सकिन्छौं ।

तपाईको प्रतिक्रिया