शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले ३५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समय सकिँदैछ । गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि पहिले कसले नेतृत्व गर्ने भन्नेमा दुबै दलले दाबी गरेपछि नयाँ सरकार गठनमा ढिलाई भएको हो । अन्ततः कांग्रेसले नेतृत्व गर्ने सहमति भएको हो ।

सरकारको नेतृत्वलाई लिएर गठबन्धनमा रहेका दलहरुबिचको किचलोका कारण प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समेत तीन दिनसम्म सरकार गठन आह्वान गर्न सकेका थिएनन् । सोमबार केन्द्रमा सहमति भएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को (२) अनुसार बिहीबार ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

बिहीबार कांग्रेस र माओवादी केन्द्र संसदीय दलका नेताको बैठकपछि सरकारको दाबीका लागि पाण्डे गएका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । पाण्डेलाई कांग्रेस, माओवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

६० सदस्य प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् । यसअघि गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री थिए । गत २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमाले, माओवादी र राप्रपाको समर्थन रहेका अधिकारी १० चैतमा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । उनी ९ बैशाखमा विश्वासको मत लिन असफल भएका थिए । अधिकारी पदमुक्त भएको ६ दिनमा गण्डकीले नयाँ मुख्मन्त्री पाउन लागेको हो ।

तपाईको प्रतिक्रिया