शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल अन्तर्गत नेपालले कतारमाथि शानदार जित हासिल गरेको छ । नेपालले १५८ रनको लक्ष्य पछाएको कतारलाई २५.१ ओभरमा ८९ रनमा अलआउट गर्दै ६८ रनको शानदार जित हासिल गरेको हो ।

कतारका लागि जाहीर इब्राहिम र खुराम शाहजाडले १५-१५ रन बनाए भने अमिर फारुकले १४ रन बनाएका थिए । कतारका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  नेपाली बलर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । सन्दीपले ९.१ ओभरमा १४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाएका थिए भने उनलाई ललित राजवंशीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गरेर साथ दिएका थिए । ललितले १ रन बनाएका थिए ।

कप्तान रोहित पौडेलले  २७ रन बनाए भने आसिफ शेखले १९, गुलशन झा ७, दिपेन्द्र सिंह ऐरी १२, आरिफ शेख ११, सोमपाल कामी ११, कुशल मल्ल ३,  भीम सार्कीले ६ र कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।  कतारका बलर आमिर फारुकले सर्वाधिक ४ विकेट लिए भने ओवासिस अहमदले ३, गायन मुनावीराले २ विकेट र इक्रामुल्लाह अहमदले एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल समुह ए मा ४ खेलमा ७ अंकसहित समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । समुह ए बाट ओमना उपविजेता हुँदै सेमिफाइनलमा पुग्ने छ । सेमिफाइनलमा खेल्ने टिमको टुंगो भने अहिले मुलपानी क्रिकेट मैदानमा जारी हङकङ र कुवेतवीच खेलको नतिजा पछि लाग्ने छ ।

तपाईको प्रतिक्रिया