शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

समाचार सुन्नुहोस् :

काठमाण्डाै – नेपालमा उत्पादित गाडीको दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सरकारले निर्देशिका संशोधनको काम अघि बढाएको छ । सकभर आजै निर्देशिका संशोधनको मस्यौदा तयार हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले निर्देशिका संशोधनको मस्यौदा तयार गरेर मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषद्ले निर्देशिका पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि नेपालमा उत्पादन भएका गाडीले दर्ताको अनुमति पाउनेछन् ।

यसअघि गएको आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा बसेको बैठकले तीन दिनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६०’ मा आवश्यक संशोधन गर्ने र थप छलफल गरी सात दिनभित्र मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको थियो ।

यस विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल पनि गरिसकेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादन हुने वस्तु तथा सेवालाई सहजरूपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

यात्री लगायत कम्पनीले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका गाडीको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेका छैनन् ।

 

तपाईको प्रतिक्रिया