Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

तिलक मल्ल,  टोकियो – रोजगारीको सिलसिलामा सन् २००६ सालमा जापान आएका गुल्मी मुसिकोट नगरपालिका वडा नंवर-५ आँपचौरका शिवप्रसाद खरेल उर्फ ‘माल्दाइ’ हाल रेष्टुरेन्ट ब्यवसायमा संलग्न छन् । उसो त जापान आउनु अघि उनी रोजगारीकै लागि छिमेकी राष्ट्र भारत र मलेसिया गएर काम गरेको अनुभव पनि उनीसंग छ । उताको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि ‘माल्दाइ’ नेपाल फर्के । त्यसपछि भने उनलाई जापान आउने हुटहुटीले गाँज्न थाल्यो । तत्कालिन समयमा आफन्तहरु पनि जापानमा धेरै नै भएकोले उनीहरुको सहयोगमा ‘माल्दाइ’ जापान आउन सफल भए । जापान आईसकेपछि करीव एक दशक जति रोजगारीमा बिताएपछि उनले आफै केही गर्नुपर्छ भन्ने स्वरोजगारीको अवधारण अंगाल्दै आफुले जानेको पेशालाई ब्यवसाय बनाए ।
सुरुमा १२ वर्ष, पछि २ वर्ष गरी १४ वर्ष भारतमा, ३ वर्ष मलेसियामा र १० वर्ष जापानमा रेष्टुरेन्टको सेफ कुक भएर काम गरेको २७ वर्षको अनुभवले नै उनलाई ब्यवसायतर्फ होमिन प्रेरित गरेको उनी बताउँछन् । जसअनुसार उनी सन् २०१७ देखि जापानमा रेष्टुरेन्ट ब्यवसायीकारुपमा आफुलाई उभ्याउँदै आएका छन् । रेष्टुरेन्ट ब्यवसाय आफ्नो रुची र अनुभवको पनि पेशा भएकोले यसबाट आफु सन्तुष्ट रहेको उनी बताउँछन् । उनी भन्छन् – ‘आफ्नो रुचीको बिषयलाई पेशा बनाउन सकियो भने काम पनि काम जस्तो लाग्दैन, रमाईलो मै दिनहरु बित्ने गर्दछन् ।’

‘माल्दाइ’ को अर्को रुचीको बिषय भनेको टिकटक चलाउनु हो । टिकटक नयाँ प्रविधिमा आधारित सामाजिक सञ्जाल अन्तर्गतको एउटा प्लेटर्फम हो । जानकारीमुलक सन्देशका साथै मनोरञ्जनका लागि पनि यो राम्रो माध्यम त हो नै यसको सदुपयोग कसरी गर्ने भन्ने त्यो आफुमा भर पर्ने कुरो हो । त्यसकारण ‘माल्दाइ’ पनि सुरुमा अनायसै यसमा जोडिन पुगेको बताउँछन् । यतिधेरै चर्चा-परिचर्चा कमाईएला भनेर आफु टिकटकमा नजोडिएको उनी स्वीकार्छन् । ‘माल्दाइ’ उपनाम पनि टिकटकका फ्लोअर्सहरुले नै जुराईदिएको उनी बताउँछन् । टिकटकमा करीव ७० हजार फ्लोअर्स रहेको दाबी गर्ने ‘माल्दाइ’ ले टिकटक मोहको भेद यसरी खोल्छन् –
कोभिड-१९ ले सारा ब्यापार, ब्यवसाय ठप्प भएपछि फुर्सदिला मान्छेजति सबै टिकटकमा भेटिन थाले, नयाँ नयाँ साथीहरुसंगको चिनाजानी, अनुभव आदान-प्रदान हुँदै जाँदाखेरी रमाईलो लाग्न थाल्यो । त्यसपछि दिनदिनै लाइभ बस्न थालियो । जसले गर्दा भ्युअर्सहरु पनि बढ्न थाले, मेरो बोलीको लवज, अभिनय र कन्टेन्टलाई सबैले मन पराईदिनुभयो, अनि मलाई ‘माल्दाइ’ बनाईदिनुभयो । कोभिडका बेलामा टिकटक त मनोरञ्जन मात्र नभएर औषधी नै साबित भयो । टिकटकमा भरखरै रमाउँदै गरेकाहरुका लागि भ्युअर्स र फ्लोअर्स बढाउन उनको सुझाव यस्तो छ – ‘कन्टेन्टको छनौट, बाह्य वातावरण, आफ्नो विशेष कला वा अभिनयको प्रस्तुती बीचको राम्रो फ्युजन सहित गुणस्तरिय भिडियो बनाएर उपयुक्त समयमा पोष्ट गर्न सक्नुपर्दछ ।’

कुनचाँही त्यस्तो खास विशेषताले तपाईको भिडियोलाई त्यति धेरै टिकटिकका युजरहरुले रुचाए भन्ने प्रश्नको जबाफमा उनी भन्छन् -‘प्राप्त कमेन्टका अनुसार मेरो बोली र लवजमा पाईने मौलिकता, हँसाउन सक्ने खुबी र मेरो नृत्यलाई उहाँहरुले मन पराएको जस्तो लाग्छ ।’ उनी अगाडि भन्छन् – ‘एक वाक्यमा भन्नुपर्दा टिकटक भनेको आफु पनि रमाउँदै अरुलाई पनि मनोरञ्जन दिलाउन सकिने सहज तर ‘सशक्त’ प्लेटर्फम हो ।’

जापानको लामो बसाई, अनुभव, क्षमता र सामाजिक सञ्जालमा हासिल गरेको थोरबहुत लोकप्रियतालाई अब समाजिक सेवामा उपयोग गर्ने योजना रहेको ‘माल्दाइ’ ले सुनाए । आफ्नो गृहजिल्ला गुल्मीको प्रतिनिधित्व गर्ने गुल्मेली समाज जापानको कान्तो उपाध्यक्ष, आँपचौर समाजको आजीवन सदस्य  हुँदै अन्य विभिन्न जिम्मेवारीमा रहेर आफ्नो तर्फबाट सक्दो सहकार्य गर्दै आईरहेको बताउने उनले अब नेपालीहरुको साझा संस्था मानिने एनआरएन अभियानमा संलग्न हुने योजनामा आफु रहेको उनले बताए ।

एनआरएन नै किन भन्ने जिज्ञासमा उनले भने -‘जापानमा रहेका धेरै नेपालीहरु अट्न र जुट्न सकिने साझा संस्था भएकोले राम्रो टिम बनाएर जान सकियो भने नेपालीहरुका धेरैजसो समस्याका समाधान गर्दै अगाडि बढ्न सकिन्छ । एनआरएनमा विभिन्न खालका विवादहरु पनि नसुनिएका हैनन्, विगतमा के के भए, के के भएनन् अब त्यतातिर समय खर्च नगरिकन सबै मिलेर संकल्पका साथ अगाडि बढ्ने दिशामा जानुपर्छ । जापानबासी नेपालीहरुमा मेरो यहि अपिल छ कि म अब एनआरएन जापानको केन्द्रीय सदस्यमा रहेर नेपालीहरुको सेवा गर्न चाहान्छु, यहाँहरुको साथ, सहयोग र सदभावको अपेक्षा गरेको छु ।’

एक अर्को प्रसंगमा माल्दाइ अगाडि भन्छन् – ‘कोभिडका कारण खस्कन पुगेको जापानका नेपालीहरुको ब्यवसायिक क्षेत्र अझै माथि उठ्न नसकेको अवस्था छ, सरकारी राहतका कारण वितेका केही वर्ष जेनतेन चलमलाए पनि अब भने निकै कठिन मोडमा हामी आईपुगेका छौं, यो बिषयले पनि हामीलाई उत्तिकै गिजोलेको अवस्था छ । नवागान्तुक विद्यार्थी भाइबहिनीहरुको समस्या पनि आफ्नै ठाउँमा छन् । हतोत्साही नभई उच्च मनोबलका साथ गन्तब्य तर्फ अगाडि बढ्न हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ, त्यसका लागि हामी सबैको इमान्दार मिहिनेत आवश्यक छ, त्यसकारण पनि म आफु अभियानमा जोडिन चाहेको हुँ ।’

(टिकटकर शिवप्रसाद खरेल ‘माल्दाइ’ संग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया