शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको नामबाट नक्कली ट्वीटर अकाउन्ट बनाएर दु्ई वर्षदेखि पोस्ट गरेको पाइएको छ । ‘@iam7880’ ट्वीटर ह्यान्डलबाट नेपालीमा डा. तोसिमा कार्कीको नाम राखेर अकाउन्टबाट ट्वीटहरू पोस्ट भएको पाइएको हो ।

सन् २०२१ को अक्टोबरमा खाेलिएकाे उक्त अकाउन्टबाट उनको तस्वीर लगायत रवि लामिछानेदेखि लिएर विभिन्न चर्चित नेताहरूको पोस्ट रिट्वीट गरिएको छ । अकाउन्टमा साढे २४ हजार फलोअर छन् भने ४८ जनालाई फलो गरिएको छ । कार्कीले एक ट्वीट गर्दै उक्त अकाउन्ट आफ्नो नभएको र आफूले उक्त अकाउन्टको विरुद्ध रिपोर्ट गरेको जानकारी दिएकी छिन् ।

उनले आफ्नो आधिकारिक अकाउन्टबाट नक्कली अकाउन्टको ट्वीट शेयर गर्दै सो अकाउन्ट आफ्नो नभएको बताएकी हुन् ।”यो अकाउन्ट र यहाँ लेखिएका शब्दहरू मेरा होइनन् । कृपया नक्कली अकाउन्टबाट आएका कुनै पनि पोस्टलाई विश्वास नगर्नुहोला । मैले यो अकाउन्टलाई रिपोर्ट गरेको छु,” उनले लेखेकी छिन् ।

कार्कीको आफ्नो अकाउन्टको ह्यान्डलमा ब्लु टिक छ भने उनको नाम अंग्रेजीमा लेखिएको छ । साथै उनको ह्यान्डल @tooshikarsu रहेको छ ।

 

तपाईको प्रतिक्रिया