शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरुमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै यहि आउने आईतबार शिन-ओकुबो स्टेशन अगाडि बिरोध प्रदर्शन गरिने भएको छ ।

यहि अप्रिल ९ तारिख आइतबारका दिन साढे १२ बजे शिन-ओकुबो स्टेशन अगाडि जम्मा भई बिरोध र्‍याली सुरु गरिने बताईएको छ । ‘मुभिङ बियोण्ड हेट’ नामक समुहको आयोजनामा हुन लागेको सो बिरोध र्‍याली शिन-ओकुबो स्टेशनबाट सुरु भई शिन्ज्युकु कुरिचु कितासान्मोमिजी पार्कमा भेला हुने कार्यक्रम रहेको बिरोध प्रदर्शन कार्यक्रमका संयोजक टोमी हासेगावाले समुद्रपारिलाई बताए ।

हासेगावाले भने – ‘हाल जापान सरकारले शरणार्थीहरुलाई देश निकाला गर्न पाउने खालको कानून ल्याउन लागेकोले अन्यायपूर्ण देशनिकाला प्रावधानको बिरोधमा आवाज उठाउन हामी सबै एक हुन यो बिरोध प्रदर्शनको आयोजना गरिएको हो ।’

बिरोध प्रदर्शनको सुरुमा शिन-ओकुबो स्टेशन अगाडि सो समुहका केही अगुवाहरुले सम्बोधन गर्ने र त्यसपछि बिरोध र्‍याली शिन्ज्युकु तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताईएको छ ।
विदेशीमाथि गरिने भेदभावको अन्त्य गर, अन्यायपूर्ण देश निकाला कार्य बन्द गर, हाम्रा आवाजहरुलाई बुलन्द गर्न हामी सबै एक हौं, जस्ता नाराका साथ उक्त दिनलाई ‘डे अफ एक्शन’ कारुपमा बिरोध प्रदर्शन गर्न लागिएको हासेगावाले जानकारी दिए । बिरोध प्रदर्शन कार्यक्रम उक्त दिनको पौने ३ बजेसम्म जारी रहने बताईएको छ ।

उक्त समुहले खासगरी इमिग्रेशनसंग सम्बन्धित भिसा, शरणार्थी प्रकरण लगायतका बिषयमा अन्यायमा परेका विदेशीहरुको सहयोगमा आफ्ना गतिविधि गर्दै आईरहेको बताईएको छ । यसअघि पनि विभिन्न समयमा बिरोध प्रदर्शन कार्यक्रम गर्दै आईरहेको सो समुहले बिदेशीहरुको बाक्लो बस्ती रहेको शिन-ओकुबो स्टेशनलाई यसपटक केन्द्र मानि कार्यक्रम अगाडि बढाउन लागेको बुझिएको छ । सन् २०१९ मा स्थापित ‘मुभिङ बियोण्ड हेट’ समुहमा धेरजसो जापानीहरु रहेको र समुहमा कुनै पदाधिकारीको ब्यवस्था नरहेको सबै सदस्यकारुपमा समान हैसियतमा स्वतस्फुर्त कार्य गर्दै आईरहेको हासेगावाले बताए । बिरोध र्‍यालीमा सयौंको सहभागिता रहने अपेक्षा गरिएको छ ।***

तपाईको प्रतिक्रिया