शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – घरबिदामा गएका भरतमणि चालिसे (नाम परिवर्तन) केहि महिनादेखि नेपालमा छन् । जापानको रोजगारीमा करीव एक दशक बिताएका उनी घरायसी कामको सिलसिलामा यता र उता गर्दा उनले जापानको जाइर्‍यो कार्ड हराए । जापान फर्कने तैयारी गरिरहेकै बेला जाइर्‍यो कार्ड हराएकोले उनी अहिले निकै तनावमा छन् । उनले दायाँबायाँ केही नसोची नेपालबाट सिधै हामीलाई सम्पर्क गरे र आफ्नो समस्या सुनाए । किनभने उनी पहिलेदेखि नै नेपाली समाचार पत्रिकाका नियमित ग्राहक भएकोले कुनै पनि समस्यामा परामर्श लिनुपरेमा पहिलेदेखि हामीलाई सम्पर्क गर्ने गर्दथे । आफुमाथि भरोसा गरी सुझावको अपेक्षा गरिएको यो बिषय हाम्रा लागि पनि नयाँ भएकोले यसबारेमा आधिकारिक प्रक्रिया बारे जानकारी लिनुपर्ने भयो । सबैभन्दा पहिले जापानमा भएको नेपाली दूतावासमा सम्पर्क गर्‍यौं । दूतावासका अधिकारीबाट नेपालमा भएको जापानी दूतावासमा सम्पर्क गर्न भनियो र हामीले पनि त्यसै गर्‍यौं । नेपालमा भएको जापानी दूतावासमा सम्पर्क गर्दा जाइर्‍यो कार्ड जारी गर्ने निकाय जापानको इमिग्रेशन भएकोले आफ्नो कुनै भूमिका नहुने भन्दै जापानको इमिग्रेशनमा सम्पर्क गर्न भनियो ।

इमिग्रेशनमा सम्पर्क गर्न खोज्दा तत्काल सम्पर्क हुन नसकेपछि चिनजानका एकजना भिसा तथा इमिग्रेशनसंग सम्बन्धित काम गर्ने जापानी (ग्योसेइश्योशी) लाई फोन गरेर सोध्दा उनले इमिग्रेशनमा निबेदन दिएर एउटा लेटर निकाल्नुपर्ने र त्यो नेपाल पठाउने अनि त्यो लिएर जापान आउन पाइने र जापान आईसकेपछि इमिग्रेशनमा नयाँ जाइर्‍यो कार्डका लागि प्रक्रिया गर्नुपर्ने सुझाव दिए । उनको यो सुझावबाट पनि त्यति ढुक्क हुन नसकेपछि यसअघि यस्तो घटना ब्यहोरेका एकजना परिचित मित्रको अनुहार झट्ट सम्झना आयो । तत्काल ती मित्रलाई सम्पर्क गरी सोधपुछ गर्ने काम पनि भयो । ती मित्रका अनुसार नेपालमा जाइर्‍यो कार्ड हराएको भन्ने ब्यहोराको प्रहरी रिपोर्ट बनाएर आएमा केही समस्या नपर्ने बताए । तर पनि अझै ढुक्क हुन नसकेपछि इमिग्रेशनमा सम्पर्क गरेर आधिकारिक जानकारी लिने निरन्तरको प्रयास पछि प्राप्त भएको आधिकारिक प्रक्रिया बारेको जानकारी सर्बसाधारण सबैका लागि उपयोगी हुने आशयले यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

टोकियो इमिग्रेशन स्रोतका अनुसार नेपालमा जाइर्‍यो कार्ड हराउने ब्यक्तिको परिवारका कोही सदस्य जापानमा भएमा सिटी कार्यालयमा गएर जुमिन्ह्यो (पारिवारिक विवरण खुल्ने प्रमाणपत्र) निकाल्ने, जाइर्‍यो कार्ड हराएको भन्ने नेपालको प्रहरी रिपोर्ट, यदि छ भने हराएको जाइर्‍यो कार्डको कपी र निजको पासपोर्टको कपी (इमेल वा फ्याक्स गरी मगाउने) संलग्न राखी इमिग्रेशनमा निवेदन दिने र ‘साइन्युकोकु किकेन शोमेइश्यो’ भन्ने कागजात निकालेर (इमेल वा फ्याक्स गरेर) नेपाल पठाउनुपर्दछ । सोहीदिनमा तत्काल प्राप्त हुने उक्त कागजातका लागि कुनै शुल्क लाग्दैन । जाइर्‍यो कार्डको सट्टामा सो कागजात लिएर जापान आउने र जापान आईसकेपछि जाइर्‍यो कार्ड पुनः प्राप्तीका लागि इमिग्रेशनमा निवेदन दिनुपर्दछ । आधिकारिक जानकारीको अभावमा तपाईका पनि यी र यस्ता समस्याहरुसंग सम्बन्धित कुनै बिषय पेन्डिङमा छन् भने हामीसंग परामर्श गर्न सक्नुहुने छ । ०८०-४१५०-५३१४ (भाइबर ओके)

तपाईको प्रतिक्रिया