शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – एलन मस्क ट्वीटरमा सर्वाधिक बढी फलोअर हुने व्यक्ति बनेका छन् । यो समाचार तयार पार्दासम्म १३ करोड ३० लाख ७८ हजार बढी प्रयोगकर्ताका साथ मस्क उक्त प्लेटफर्ममा सर्वाधिक बढी फलोअर हुने व्यक्ति बनेका हुन् । यसअघि पहिलाे स्थानमा रहेका अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा दोश्रोमा झरेका छन् । ओबामाका हाल १३ करोड ३० लाख ४१ हजार बढी फलोअर छन् ।

गत अक्टोबरमा मस्कले ट्वीटर खरिद गर्दा ओबामाको अकाउन्टमा १३ करोड ३४ लाख फलोअर थिए । पाँच महिनामा उनका चार लाख फलोअर घटेको देखिएको छ ।उता अक्टोबर २०२२ मा मस्कको अकाउन्टमा ११ करोड २० लाख फलोअर थिए । करिब पाँच महिनाको अवधिमा दुई करोड १० लाख बढी फलोअर थपिँदा मस्क ट्वीटरमा सर्वाधिक बढी फलोअर हुने व्यक्ति बनेका हुन् । ट्वीटर खरिद गरेसँगै मस्कको अकाउन्टमा फलोअर सङ्ख्या तीव्र गतिले बढ्न थालेको छ । त्यसमा पनि उनलाई बढी चर्चामा ल्याउन उनको नाटकीय ढङ्गले ट्वीटर खरिद गर्ने कामले ठूलो भूमिका खेलेको थियो ।

त्यस्तै ११ करोड ३४ लाख फलोअरका साथ क्यानडाका पप गायक जस्टिन बिबर तेस्रो स्थानमा छन् । तर जस्टिन बिबरका फलोअर पछिल्लो समय घटिरहेका छन् । पाँच महिनाको अवधिमा उनले चार लाख बढी फलोअर गुमाएको देखिन्छ । यसैगरी १० करोड ८० लाख फलोअर रहेका अमेरिकाकी गायिका क्याट्टी पेर्री चौंथाे स्थानमा रहेकी छन् भने पाँचाैं स्थानमा बार्बाडोसकी गायिका रिहन्ना छन् । उनको ट्वीटर अकाउन्टलाई १० करोड ६८ लाख प्रयोगकर्ताले फलो गरेका छन् ।

छैटौँ स्थानमा स्थानमा रहेका छन्, चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो । उनको ट्वीटर अकाउन्टमा १० करोड ८१ लाख फलोअर छन् । पछिल्लो समय १० करोडभन्दा बढी फलोअर भएका सेलिब्रेटीमध्ये एलन मस्क र रोनाल्डोकाे मात्र फलोअर बढेको पाइन्छ । १० करोड माथि फलोअर हुने अन्य सेलिब्रेटीका फलोअर भने निरन्तर ओरालो लागिरहेका छन् । यसो त मस्कको अकाउन्टमा फलोअर बढ्नुको कारण प्लेटफर्ममा बट (कम्प्युटरद्वारा तयार पारिएका प्रयोगकर्ता) अकाउन्ट धेरै भएको भन्ने धेरैको तर्क छ । ​केहीले त उनको अकाउन्टमा भएका आधाभन्दा बढी फलोअर नक्कली भएको समेत दाबी गरेका छन् ।

मस्क सबैभन्दा बढी सक्रिय हुने माध्यम नै ट्वीटर हो । उनी आफूले गरेका ट्वीटका कारण बारम्बार चर्चामा आइरहन्छन् । यसरी छोटो समयमा विवादमा आइरहने व्यक्ति भएकाले पनि उनका फलोअर बढेको विश्लेषण गरिएकाे छ ।

 

तपाईको प्रतिक्रिया