शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा नेपालमा १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता पाएको हो ।

विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बराबर वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता ४७ प्रतिशत र वैदेशिक अनुदान प्रतिबद्धता ४४.२८ प्रतिशत बराबर हो ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा जापान सहयोग नियोग (जाइका)बाट ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप’ (जेडीएस) कार्यक्रमका लागि ३५ करोड रुपैयाँ अनुदानको प्रतिबद्धता सरकारले आएको छ । जाइकाले ‘तराई क्षेत्र सिँचाइ प्रणाली सुदृढीकरण परियोजना’का लागि दुई अर्ब अनुदान प्रतिबद्धता गरेको छ । युरोपियन युनियनबाट ‘वास फर अल’ परियोजनाका लागि एक अर्ब ३७ करोड र ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका लागि दुई अर्ब रुपैयाँ बराबर अनुदान प्रतिबद्धता आएको छ ।

आठ महिनामा स्वीटजरल्यान्ड सरकारबाट ‘प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम’का लागि ९९ करोड १० लाख रुपैयाँ बराबर अनुदान सहायताका प्रतिबद्धता आएको मन्त्रालयले जानकारी दिएको छ । दक्षिण कोरिया सरकारले कोरियाबाट फर्किएका कामदारको उद्यमशीलता विकासका लागि लागि एक अर्ब र नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता विकासका लागि एक अर्ब अनुदानको प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी एसियाली विकास बैंक (एडीबी)ले नेपालको पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि दुई अर्ब ४७ करोड रुपैयाँ र महिलाको क्षमता विकास कार्यक्रमका लागि एक अर्ब ५७ करोड अनुदान प्रतिबद्धता गरेको छ । बेलायत सरकारले सुरक्षा तथा न्याय प्रणाली क्षमता विकास कार्यक्रम फेज-२ का लागि पाँच अर्ब २६ करोड रुपैयाँ र स्थानीय पूर्वाधार कार्यक्रमका एक अर्ब ४४ करोड अनुदान रुपैयाँ प्रतिबद्धता गरेको छ ।

नर्वे सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि दुई अर्ब ५७ करोड र फिनल्यान्ड सरकारले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि दुई अर्ब ५४ करोड रुपैयाँ प्रतिबद्धता जनाएको छ । वैदेशिक ऋण सहायतातर्फ विश्व बैंकमार्फत ‘ग्रिन रेजिलेन्स एन्ड इन्क्लुसिभ डेभलपमेन्ट’ (ग्रिड) कार्यक्रमका लागि १२ अर्ब ७५ करोड ऋण प्रतिबद्धता आएको छ ।

त्यस्तै विश्व बैंकले क्षेत्रीय यातायात तथा व्यापार कनेक्टिभिटी परियोजनाका लागि ३४ अर्ब ९६ करोड रुपैयाँ र ‘डिजिटल नेपाल एक्सिलेरेसन कार्यक्रम’का लागि १७ अर्ब ७९ करोड रुपैयाँ बराबर ऋण दिने प्रतिबद्धता गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा जाइकाबाट सहरी क्षेत्रको विद्युत् प्रणाली व्यवस्थापन परियोजनाका लागि एक अर्ब ४२ करोड रुपैयाँ ऋणका लागि सम्झौता गरिएको छ ।

एसियाली विकास बैंकले पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवर्द्धनका लागि सात अर्ब ७९ करोड रुपैयाँ र विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण प्रतिबद्धता गरेको छ ।

तपाईको प्रतिक्रिया