शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – धामीझाँक्रीको उपचारमा भर पर्दा कैलाली एक गर्भवतीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-८, स्याउलेकी २२ वर्षीया गर्भवतीको मृत्यु भएको हो ।

घरनजिकै अस्पताल भएपनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो । बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो । ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन् ।

त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्‍याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो । कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन् । कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन ।

उनको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए । उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो ।

कैलालीमा धामीझाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया