शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाली राजनीतिमा फेरि नेकपा ब्युँताउनेदेखि वाम एकतासम्मको चर्चा शुरु भएको छ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले यो विषयलाई अगाडि सारेका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फेरि नेकपा ब्युँताउन प्रस्ताव राखेका हुन् । अध्यक्ष नेपाल आफैले दुवै नेतासँग प्रस्ताव राखेका खुला गरेका हुन् । उनले शुक्रबार बिहान प्रचण्डसँगको भेटवार्तामा तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव राखेका थिए । आफूले नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको जानकारी दिँदै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भनेँ हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौँ । एउटै ठाउँमा आउनुहोस् हिम्मत छ ?’

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै अध्यक्ष नेपालले भने, ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठिक छ, पार्टी एकताको लागि को-को ले के-के त्याग गर्नुपर्ने हो तयार हुनुपर्‍यो ।’

नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र विग्रहको बाटो सच्याउने गरी २०७५ जेठ ३ मा दुई ठूला वाम दल (नेकपा एमाले र माओवादी केन्द्र)बीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुङ्गिँदै सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो ।

त्यसपछि आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेका थिए । तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका हुन् । हुन त विभाजनपछि नेकपा ब्युँताउने प्रस्ताव र चर्चा चलेको यो पहिलोपटक भने होइन । तर ती चर्चाले सार्थकता भने पाएको छैन ।

नेकपा ब्युँताउने र वाम एकताको चर्चा लगभग सेलाइसकेको अवस्थामा वर्तमान सत्ता गठबन्धनमा रहेको एक घटक नेकपा एसका अध्यक्ष नेपालले पुनः नेकपा ब्युँताउने प्रस्ताव राखेसँगै राजनीतिक वृत्तमा फेरि वाम एकताको चर्चा सुरु भएको छ ।

तपाईको प्रतिक्रिया