शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न कुनै प्रस्ताव नआएकाे बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई अर्थमन्त्री पद दिने प्रस्ताव गरेकाे चर्चाबारे थापाले प्रस्टीकरण दिएका हुन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा गरेकाे कार्यक्रममा थापाले भने, ‘केही साथीहरू भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु । साथीहरूको माया र शुभेच्छाले अगाडि बढेको छु ।’

आफूले ६-८ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा विपन्न नागरिकलाई केन्द्रित गरी काम गर्न सकिँदो रहेछ भन्ने कुरा जान्ने मौका पाएको उनले बताए । यद्यपि उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ बलियाे बनाउन सकिन्छ भन्नेमै रहेको बताए । ८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने उनकाे भनाइ छ ।

 

तपाईको प्रतिक्रिया