शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सन् २०२२ को डिसेम्बरमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको लियोनल मेसीको टिम अर्जेन्टिनाले त्यसयता शुक्रबार पहिलो खेल खेल्दै छ । कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले फ्रान्सविरुद्ध पेनाल्टीमा जित निकाल्नुअघि खेलको निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा रोकिएको थियो ।

कतार विश्वकपको उपाधिपछि अर्जेन्टिनाले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मध्य अमेरिकी राष्ट्र पानामाविरुद्ध खेल्दै छ । कप्तान मेसीले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्ने चर्चा थियो । तर, विश्वकप फाइनलपछि मेसीले विश्व च्याम्पियनका रूपमा अझै केही समय खेल्ने इच्छा रहेको बताएका थिए । पानामासँगको खेलअघि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसी राम्रो लयमा रहेको र राष्ट्रिय टिममा खुसी रहेको बताए ।

“उनी राम्रो लयमा छन् । उनी राष्ट्रिय टिमबाट खेल्न चाहन्छन् । यदि, मेसीले कुनै समय टिममा सहज महसुस नगरेको बताए भने हामी उनले खेल्ने/नखेल्नेबारे सोही बेला निर्णय गर्नेछौँ,” प्रशिक्षक स्कालोनीले भने, “अहिलेको अवस्थामा उनी राष्ट्रिय टिममा खुसी छन् ।” अर्जेन्टिनाको राजधानी ब्युनस आर्यसमा हुने उक्त खेलका लागि ६३ हजार टिकट उपलब्ध गराइएको थियो । १५ लाख समर्थकले टिकट खरिदका लागि आवदेन दिएका थिए । ब्युनस आर्यसस्थित मोनुमेन्टल रंगशालामा सो खेल नेपाली समयानुसार शुक्रबार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ ।

 

तपाईको प्रतिक्रिया