शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ। नेपालले लाओसलाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।

नेपाललाई अग्रता दिलाउने क्रममा अनन्त तामाङले पहिलो गोल गरेका थिए। उनले खेलको ३० औँ मिनेटमा एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन्। अनन्तको यो करिअरको तेस्रो अन्तराष्ट्रिय गोल हो।

नेपालले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाउनले क्रममा ५६ औँ मिनेटमा ३५ यार्डबाट गरेको प्रहार लाओसका गोलरक्षक सौभान्शोकले राम्रो जज गर्न नसक्दा गोलमा परिणत भएको थियो। नवयुगको यो करिअरको आठौँ अन्तर्राष्ट्रिय गोल हो। पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका अन्य केही राम्रा अवसर चुकाउँदा लाओस तथा नेपालले थप गोलका अवसर गुमाएका थिए।

यसअघि नेपालले लाओससँग २०१६ मा नेपालले दुई पटक प्रतिस्पर्धा गरेको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो।

दुई टिमबीचको यो तेस्रो भेट हो। पहिलो खेलमा १–१ गोलको बराबरी भए पनि दोस्रो पटक एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। उक्त प्रतियोगिता नेपालले जितेको थियो। मकाउलाई हराउँदै नेपालले उपाधि जितेको थियो। यसअघि नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपालले १–० को जित निकालेको थियो।

 

तपाईको प्रतिक्रिया