शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा जाँदै छन् । यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नेछन् । यसअघि किशिदा भारत भ्रमणमा थिए । समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष विश्वका सात सबैभन्दा उन्नत र विकसित अर्थतन्त्र भएका देशहरूको समूह जी–सेभेनको अध्यक्षता गरिरहेको छ । यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको बताइएको छ । जापानको आधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै किशिदा भारत भ्रमणको समापनपछि मङ्गलवार युक्रेन पुग्ने जानकारी दिएको छ ।

एनएचकेले पोल्यान्डका आफ्ना पत्रकारहरूले किशिदाको श्मिशल सहरमा कारमा घुमिरहेको भिडियो बनाएको बताएको छ ।यो यस्तो सहर हो जहाँबाट विदेशी नेताहरू प्रायः युक्रेनका लागि रेल चढ्छन् ।एनएचकेले भन्यो, ‘युक्रेन जाने अन्तर्राष्ट्रिय रेलहरूका लागि प्रयोग गरिने शमशिल स्टेसनको प्लेटफर्मको अगाडि कार्केड राेकिएको थियो । किशिदा कार्केडको पहिलो गाडीबाट निस्किएर उनी रेलको अन्तिम डिब्बामा चढे ।’ समाचार अनुसार यो ट्रेन युक्रेनको समय अनुसार अबेर राती १.३० बजे प्रस्थान गरेको थियो ।

तर, यो भ्रमणको जापान सरकारका अधिकारीहरूले पुष्टि गरेका छैनन् ।किशिदा युक्रेन युद्ध सुरु भएदेखि नै किभ भ्रमण नगर्ने जी–सेभेन देशका एक मात्र शीर्ष नेता थिए ।यस वर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अचानक कीभ पुगेपछि भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए ।किशिदाको युक्रेन भ्रमण पनि यस्तो बेला भइरहेको छ, जब चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न पुगेका छन् । जापानले युक्रेनमा युद्ध सुरु भएदेखि रुसमाथि प्रतिबन्ध लगाएका पश्चिमी देशहरूको पक्षमा रहेको छ र युक्रेनलाई सहयोगको प्रस्ताव पनि गरेको छ ।

तपाईको प्रतिक्रिया