काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने कल्पना नगरेको बताएका छन् । सदनमा विश्वासको मत माग्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रक्रिया थाल्दा यस्तो अवस्था आएको बताए । ‘फेरि विश्वासको मतका लागि यति छिट्टै सांसदसँग अनुरोध गर्ने अवस्था आउला भनेर मैले सोचेकै थिइनँ,’ प्रचण्डले भने, ‘नीतिगत मतभेद थिएन । क्याबिनेट बैठक सौहार्द थिए । राष्ट्रपति चयनमा मेरो प्रस्तावबाट राप्रपा र नेकपा एमाले सरकारबाट फिर्ता भयो । जसले गर्दा फेरि विश्वासको मत लिनुपर्ने अवस्था आयो ।’
प्रचण्डले ठुलो दल भएकोले कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले प्रस्ताव गरेकोमा त्यो सहमति हुन नसकेको बताए । ‘संसद्को ठुलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर ओलीसँग प्रस्ताव राखे । तर त्यसमा सहमति हुन सकेन,’ प्रचण्डले प्रश्न गरे,’के त्यो मेरो गल्ती थियो र ?’