बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

नेपाल पत्रकार महासंघको जापान शाखाले हालै १२ औं वर्षगांठ मनाएको छ । वर्षगांठको अवसरमा आयोजित समारोहमा जापान शाखाले संस्थापकहरुलाई सम्मान गरेको छ । सतहमा सामान्य लागेता पनि यस कार्यक्रमबाट पूर्वजहरुको धुँइपत्ताल खोजतलास गरी सम्झिने र चिन्ने असल सँस्कारको थालनी भएको छ । ढिलै भएपनि थालिएको यस संस्कारबाट अग्रजहरुप्रति सम्मानभाव दर्शाउन कञ्जुस्यांई गर्न नहुने सन्देश पनि प्रवाह भएको छ । एउटा सचेत वर्गविशेष मानिने महासंघको यस्ता गतिबिधिबाट समाजमा थोरबहुत सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ ।

इतिहास भनेको इतिहास नै हो । यो जे जस्तो थियो त्यस्तै अकाट्य रहन्छ, थपघट हुँदैन । तत्कालिन कहालिलाग्दो परिवेश र प्रतिकुल अवस्थामा पनि सानो संख्याका पत्रकारहरु संगठित भई महासंघको जापान शाखा जन्म भएको थियो । समारोहमा ती कठिन दिनहरुको स्मरण गर्दै बाह्रवर्षको कालखण्डको संक्षिप्त समीक्षा, महासंघले नेपाली समुदायमा पुर्‍याएको योगदान, अबको अपेक्षा र लिनुपर्ने दायित्वका बिषयमा चर्चा-परिचर्चा भए । पत्रकार महासंघ जापान शाखाले अब जापानको नेपाली समुदायको केन्द्रमा रहेर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफुलाई सशक्तरुपमा उभ्याउनुपर्ने साझा आवाजले वर्षगांठ समारोह गुञ्जिएको पाईयो । सयौंका संख्यामा रहेका यहाँ क्रियाशील संघसंस्थाहरुको नियमित अद्यावधिक, राजदूतावास, एनआरएन, राजनैतिक दलनिकट संघसंस्था र अन्य संघसंस्थाहरुबीच समन्वयकारी भूमिका निर्बाह गर्दै समय समयमा समसामयिक बिषयमा बहस, अन्तरक्रिया र विचार आदानप्रदान कार्यक्रमको आयोजना मार्फत महासंघले आफ्नो उपस्थिति थप गर्बिलो र दरिलो बनाउँदै लैजानुपर्ने देखिन्छ । जनअपेक्षा अनुसार जापानको नेपाली समुदायलाई थप उन्नत र परिष्कृत बनाउन सोही प्रकृतिको सचेतनामुलक कार्यक्रमहरु उत्पादन गर्न महासंघले अब ढिला गर्नुहुँदैन । यसका साथै नेपाली समाजका विसंगति एवं बिकृतिहरुका विरुद्ध पनि महासंघले आफ्ना सञ्चार औजारहरु मार्फत निरन्तर पहरेदारी र खबरदारी गर्न सक्नुपर्दछ ।

महासंघ सूचनाको हक र प्रेस स्वतन्त्रताको पैरवी गर्ने पेशागत तालुकदार संस्था भएकोले समग्र सञ्चारक्षेत्र र आबद्ध सञ्चारकर्मीहरुको साझाघर हो । राज्यको चौथो अंग मानिने यस क्षेत्रप्रति आमनागरिक एवं समुदायको अपेक्षा उच्च हुनु स्वभाविकै हो । त्यसमाथि डायस्पोरिक नेपाली सोसाइटीको मनोविज्ञान र औसतमा भन्नुपर्दा बचखुचेको समयमा गरिने रहरको पत्रकारिताबीचको तालमेल त्यति सहज छैन । त्यसो भएको हुनाले डायस्पोरिक पत्रकारिताले अपेक्षित लय समात्न नसकेको हामीले स्वीकार्नै पर्दछ । पहिलो कुरो त पत्रकारहरुबीच कार्यगत एकता र सहकार्य हुनु आवश्यक छ, त्यो भनेको मिलेर काम गर्ने भावनाको बिकास हुनुपर्दछ । उनीहरुमा अन्तर्निहित सीप, क्षमता र दक्षता सँधैका लागि पर्याप्त नहुन पनि सक्छ । तसर्थ, समय, देश, काल, परिस्थिति अनुसार दक्षता अभिबृद्धि र अपग्रेडका लागि समय-समयमा प्रशिक्षण गोष्ठि तथा सेमिनार जस्ता कार्यक्रमहरु आयोजना गरिनुपर्ने देखिन्छ । जसबाट विदेशको परिवेशमा पाठकको रुची र आवश्यकताको ठ्याक्कै पहिचान गरी तथ्यपरक र जानकारीमुलक सटिक समाचार समयमै पस्कन सक्ने क्षमताको बिकास गर्न सकियोस् । उनीहरुद्वारा संप्रेषित सामग्री पढेर पाठकहरुले कम्तीमा पनि समाचार, सूचना र विज्ञापन बीचको भेद छुट्याउन सकून् । यसतर्फ पनि महासंघको ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रवासमा ब्यवसायिक पत्रकारिता गर्नु भनेको फलामको चिउरा चपाउनु सरह नै हो । त्यसमाथि सेकेण्ड सेकेण्डको समय डलरसंग विनिमय हुने देश जापानमा अक्षरको खेती गरेर ब्यवसायिक बन्ने संभावना ज्यादै कम रहन्छ । मात्र लाख-सवा लाखको हाराहारीमा नेपाली रहेको जापानमा ब्यवसायिक पत्रकारिताका लागि बजार पुग्दैन । तसर्थ प्रायः आत्मरतिका लागि गरिने रहरको खेतीबाट त्यति धेरै अपेक्षा गर्न नसकिएता पनि बिस्तारै ब्यवसायिक हुने दिशातिर भने सोच्नुपर्ने बेला आएको छ । स-साना खहरे खोल्साहरु धेरै हुनुभन्दा एउटै ठूलो नदि हुनु तर ब्यवसायिक हुनु उपयुक्त हुने भएकोले यदि सञ्चारकर्ममा नै आफ्नो सन्तुष्टी सहितको भविष्य रोज्ने हो भने पत्रकारहरुले एक्लाएक्लै र बेग्लाबेग्लै झोला बोक्नुभन्दा अब संभव भएसम्म एक ढिक्का हुनेतिर सोच्ने हो कि ? ***
(साभार : नेपाली समाचारबाट)

तपाईको प्रतिक्रिया