आइतबार, चैत्र १२, २०७९
Sunday, March 26, 2023
तस्बिर : एनएचके वर्ल्ड

टोकियो – जापान प्रहरी पक्राउ गरी हिरासतमा राखेका नेपालीको मृत्युको क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । जिल्ला अदालतले टोकियो महानगरपालिकालाई प्रहरी हिरासतमा मृत्यु भएका अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

सन् २०१७ मा मृत्यु भएका सिंहको परिवारलाई करिब १० लाख येन क्षतिपूर्ति तिर्न आदेश दिएको छ । तर यो दाबी गरिएको भन्दा धेरै कम हो । पीडित पक्षले महानगरपालिका र प्रदेश सरकारसँग ६१ करोड ८२ लाख येन क्षतिपूर्ति मागेका थिए । अदालतले नेपालको कानुनमा तोकिएको सीमामा रहेको क्षतिपूर्ति तोकेपछि वादीका वकिलहरूले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने प्रतिक्रिया दिएका छन्‌ ।

के हो घटना ?
हराएको क्रेडिट कार्ड गैरकानुनी रूपमा प्रयोग गरेको आरोपमा सिंह २०१७ को मार्चमा पक्राउ परेका थिए । हिरासतमा रहेका बेला प्रहरीको निर्देशन अस्वीकार गर्दै ड्युटीमा रहेका अधिकारीलाई सोफाको कुसन प्रहार गरेका थिए । त्यसपछि प्रहरीले उनलाई हातखुट्टा बाँधी सोधपुछका लागि लगेको थियो ।

त्यसक्रममा सिंहले विरोधस्वरुप टेबुलमा प्रहार गरेपछि प्रहरीले उनको एउटा हातको हतकडी खोलिदिएको थियो । तर, तत्कालै उनी बेहोस भएको जनाइएको छ । उनलाई तत्काल अस्पताल लगिएकोमा केही घण्टामै मृत्यु भएको मुद्दामा उल्लेख गरिएको छ । चिकित्सकले समेत सिंहको मृत्युको कारण बताएका छैनन् ।

विज्ञहरूले सिंहको मृत्यु रगतमा पोटासियमको मात्रा उच्च भएका कारण भएको बताएका थिए । सिंह सन् २०११ मा दक्ष कामदार भिसामा जापान गएका थिए । सुरुमा साइतामास्थित नेपाली रेस्टुराँमा काम गरेका उनले छोटो समयमै जागिर गुमाएको र प्रहरीले पक्राउ गर्दा सडकमा सुतिरहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया