शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ– देवशिल्प र मानवशिल्प ।

देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्‍न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्‍ने ज्ञान सिकाउँछ ।

वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ । वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्‍ने जानकारी दिइन्छ ।

वास्तुशास्त्रको आधार

प्रवेशद्वार

प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ । यसले प्रतिष्ठा बढाउँछ । प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ । प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ । यसो गर्दा देवी–देवता खुसी भै घरमा शान्ति छाउँछ । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ । ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ । घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । नैऋत्य र वायव्य कोणमा द्वार बनाउनुपर्छ । ढोका आफै खुल्ने–बन्द हुने हुनुहुँदैन ।

पूर्व दिशा

यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान–सम्मान तथा सुख–शान्ति प्राप्त हुन्छ । यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ । बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ । पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ । सूर्यलाई अर्घ दिनुपर्छ । सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ ।

दक्षिण–पूर्व दिशा

यसलाई आग्नेय भनिन्छ । यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ । यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ। यसमा वास्तु दोष भए मङ्गलका लागि ढोकामा मङ्गलकारी यन्त्र राख्नुपर्छ । गणेशको पूजा गर्नुपर्छ । ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गर्नुपर्छ ।

दक्षिण दिशा

यो दिशामा खुलापन हुनुपर्छ । यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन । यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्‍न उपयुक्त मानिन्छ । दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मङ्गलकारी तोरण झुन्डाउनुपर्छ । यहाँ सुड भएको गणेश पनि झुन्डाउन सकिन्छ । यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभदायक हुन्छ ।

दक्षिण–पश्चिम दिशा

यो दिशालाई नैऋत्य भनिन्छ। परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरू बस्‍ने कोठा यो दिशामा बनाउनुहुँदैन । मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ । यो दिशालाई खुल्ला छाड्नुहुँदैन। यहाँ झ्याल बनाउनुहुँदैन । वास्तु दोष भए घरमा राहु यन्त्र स्थापना गरी पूजा गर्नुपर्छ। प्रवेशद्वारमा सुन्तला रंगको गणेश स्थापना गर्नुपर्छ ।

पश्चिम दिशा

यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन् । भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ। पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ । शनिबार व्रत बस्‍नुपर्छ ।

उत्तर–पश्चिम दिशा

यसलाई वायव्यकोण पनि भनिन्छ। वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ। काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ । वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ। घरमा चन्द्रयन्त्र राख्नुपर्छ ।

पूजास्थल

घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ । यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनुपर्छ । पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन । आश्विन महिनामा दुर्गा माताको मन्दिर स्थापना गर्नु शुभ मानिन्छ । यसबाट पुण्य प्राप्त हुन्छ। घरमा एक बित्ताभन्दा ठूलो पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन । पूजा कोठा शयन कक्षमा बनाउनुहुँदैन । पूजाकोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन ।

घरमा शिवलिङ्ग, तीन गणेश, दुई शंख, दुई सूर्यका प्रतिमा, तीन देवीका प्रतिमा, दुई गोमती चक्र र दुई शालिग्रामले गृहस्वामीमा अशान्ति ल्याउँछन् । पूजाकोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ। भगवान्को तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नुहुँदैन। यसले काममा अवरोध उत्पन्‍न गर्छ ।

भान्सा

भान्सामा तीनवटा पिर्का राख्नुहुँदैन । यसले घरमा झगडाको वातावरण निम्त्याउँछ । भान्सामा कहिल्यै रुनुहुँदैन । यसो गर्दा बिरामी पर्न सकिन्छ । खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ । यदि भान्सा आग्नेय वा वायव्य कोणलाई छोडेर अन्य कोणमा भए वर्नरको स्थिति आग्नेय कोणमा हुनुपर्छ । भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनुहुँदैन । यसो गर्दा माता अन्‍नपूर्णको कृपा सधैं रहन्छ। भान्सा घरको दक्षिण–पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर–पश्चिममा पनि निर्माण गर्न सकिन्छ ।

भोजन कक्ष

खानपिन कक्षको रंग हलुका हरियो तथा नीलो बनाउनुपर्छ । पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ । दक्षिण फर्केर खाना खाँदा प्रेतत्व प्राप्ति हुन्छ । पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ । उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ ।

सयन कक्ष

सयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन । शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ । यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ । धन–सम्पत्तिको चाहना राख्‍नेहरूले अन्‍न, गृह, गुरू, अग्‍नि र देवताको स्थानमाथि सुत्नुहुँदैन । अन्‍न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्‍ने कोठामाथि बनाउनुहुँदैन । शयनकक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ। घरका अग्रजहरूको कोठा पश्चिम–दक्षिणतर्फ बनाउनुपर्छ । आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ । यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ । सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ । पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ । दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ । उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ ।

शौचालय

इशान कोण शौचालयका लागि अशुभ मानिन्छ । यसले जीवनमा कुनै न कुनै बाधा उत्पन्न गराउँछ । शौचालयमा मार्बल लगाउनुहुँदैन । शौचालयको भित्ता र टायल्सको रंग आफ्नो चाहनाअनुरूप राख्‍न सकिन्छ ।

घरमुली भए

घरको नैऋत्य कोण शयनकक्षका लागि शुभ मानिन्छ । यो कोणमा घरको ठूलो स्टोर हुनुपर्छ। सुत्दा सिरानी दक्षिण वा पूर्वतिर हुनुपर्छ । घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ ।

बालबालिका कक्ष

बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ ।

पाहुना कोठा

पाहुनाका लागि बनाइने स्थान उत्तर–पश्चिम वा त्यसको आसपास हुनुपर्छ ।

ब्यक्तिगत कक्ष

संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण–पूर्वमा बनाउनुपर्छ । मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजिकबनाउनुपर्छ ।

स्रोतः विकिपीडिया 

तपाईको प्रतिक्रिया