काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् । काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ताको रुपमा बोलेका थिए । प्रधानमन्त्री नआउनु भएको हुनाले आज अन्तिम वक्ता भए, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो ।
उनले राजनीतिज्ञहरुलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरुलाई आग्रह गरे। महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे ।
उनले भने, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यस्तताका कारण आउन पाउनु भएन । हिजो सभागृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आईपुग्नु भएन । त्यसपछि अन्तिम वक्ता म भएँ । आज प्रधानमन्त्री आईपुग्नु भएन । अन्तिम वक्ता म भएा । सब्सिच्यूट भईराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।’