आइतबार, बैशाख ०९, २०८१
Sunday, April 21, 2024

हिटलरका तीन विशिष्ट साथी थिए । जसको सल्लाहमा उनी चल्थे । मसी पनि तीनै रंगको प्रयोग गर्थे । त्यसमध्ये ओएर पिपिर मुख्य सल्लाहकार थिए । जसलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो । युद्धताका हिटलर विरुद्ध काम गर्दैछ भनेर बाँकी दुई सल्लाहकारले पिपिर विरुद्ध हिटलरको कान भरे । यद्यपि उनी कामप्रति सवैभन्दा बढी वफादार थिए । धेरै कान भरिएपछि हिटलरले पटक पटक जांचे । आफूलाई नजचेको विषयमा पिपर कहिलेकाहीं हिटलरको प्रतिवाद गर्थे । आखिर आज्ञा अवज्ञा गरेको निहुं देखाएर अन्त्यमा उनी जेल पठाइए । जेलमा पनि हिटलरले साथी विरुद्ध निगरानी बढाए । तीन महिनाको निगरानीपछि पिपर निर्दोष प्रमाणित भए । आफूलाई यो ठाउंसम्म ल्याउनेमाथि यस्तो व्यवहार गरेकोमा हिटरलाई पछुतो भयो । तर हिटलरजस्ता लौह पुरुषका लागि निर्णयबाट पछि हट्नु पनि त्यतिक्कै चुनौतिपूर्ण थियो । कुनै बहानामा हिटलर जेल पुगे । हिटलर चाहान्थे- उसले माफीको याचना गरोस् । तर पिपिरले त हिटलरले सोच्दै नसोचेको अनौठो माग राखे । जुन माग यस्तो थियो- ‘जेलभित्रै कुशको छाप्रो, छाप्रो वरपर सानो बगैंचा, बिजुलीको साटो परम्परागत तेलबत्ती र बजारमा खोज्न पठाएर भारतीय कवि कालिदासले लेखेको शाकुन्तल नाटक ।’ पिपिरको मागले उनलाई एकसाथ दुखी र आश्चर्यचकित तुल्यायो । हिटलरलाई आश्चर्य यस मानेमा लाग्यो- एउटा भारतीय लेखकले लेखेको पुस्तकमा के त्यस्तो रहस्य छ, जसको अगाडि मानिस कारागार मुक्ति पनि चाहंदैन । हिटलरले पनि तत्काल त्यो पुस्तक ल्याएर लगनसाथ पढे । आर्यसंस्कृतिको परिचायक यस पुस्तकले हिटलरको मन मुटु छोयो । हिटलरको यही जीवनवृत्त पढेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्य लेखेका थिए ।

तथाकथित क्रान्तिका नाममा बिहे, ब्रतबन्ध, बाआमाको क्रियाकर्म नगरेका अघिल्लो पुस्ताका कम्युनिष्ट नेताहरु आफ्नो त्यो उत्ताउलो व्यवहारप्रति पछुतो गरिरहेका छन् । बुढेसकालमा उनीहरु न त्यो गल्ती सच्याउने हिम्मत जुटाउन सक्छन, न ती कर्मको बचाउ गर्ने जाँगर नै देखाउँछन् । बिहे, ब्रतबन्ध, पूजा, श्राद्ध, मरिमराउका विधि मानवीय जीवनका जमिन हुन् । यिनै कर्मले ‘तँ एक्लो छैनस् है’ भन्ने ढाडस मानिसलाई दिन्छ । त्यही उर्जाले उसको शरीरमा सकारात्मक सञ्चार प्राप्त हुन्छ । त्यहीबाट उसले स्वस्थ जीवन बाँच्ने सामर्थ्य राख्छ । हिटलरजस्ता ‘स्पात पुरुष’ मा अनपेक्षित परिणामले उनको जीवनले युर्टन गर्‍यो भने संस्कार र संस्कृतिको विरोधमा उत्रिएर क्रान्तिको साधक बन्ने भ्रम मूलतः उमेर र संगतकै दोष हो । संस्कार, संस्कृति आईफोनको बाटोमा हिँड्दैन । धर्मलाई अफिम भन्ने उत्ताउलाहरुले हो । वास्तवमा धर्मको जमिनमा राजनीति अडेको हुन्छ । त्यसो त धर्म भनेको र्स्वर्ग जाने बाटो नभएर अनुशासन र भरोसा हो । एउटा खल्तीमा मारिया र अर्को खल्तीमा हनुमानको तस्वीर बोक्ने पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अन्तर हेरे प्रष्ट हुन्छ । मोहनचन्द्र अधिकारी, आरके मैनाली बयमा पुगेपछि ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने निष्कर्षमा पुग्नु भनेको पेन्टियम वान कम्प्युटरमा अल्झिनु समान हो । आखिर पुष्पकमल दाहालले पनि दौरा सुरुवाललाई राष्ट्रिय पहिरन स्वीकारेर क्रान्ति भाषणमा नभई रासनमा हुने सत्य स्वीकारे । यो समयको दबाब र प्रभाव बुझ्ने साहस हो । समयसंगै आविष्कार र परिस्थितिले पहिलाको पदचाप पहिल्याउन सकिदैन भन्ने तर्क सघन बन्ला, तर जुनसुकै शास्त्रले विकल्पका हजार बाटा दिएका छन् । दानसंग जोडिएको धर्मको मान्यता हुनेले नहुनेलाई दिने नै हो । एउटाले पाउँछ- सन्तुष्टि, अर्कोले जीविका । भारतका तिरुपति, स्वर्ण मन्दिर सरकारलाई ऋण दिने हैसियतमा पुग्नु पछाडिको रहस्य पनि दानको महत्ता नै हो । दशाको भामरीले छोएपछि दानको पोको खोल्नुभन्दा दानलाई संस्कृति बनाउनु चाहीँ जाति हो । आवरण परिवर्तन हुने हो, प्रकृतिको उपस्थिति कहिल्यै पातलिँदैन । पोलेको मकै दुर्लभ होला रे तर पपकर्नका नाममै भएपनि मकैको महत्व घटेको छ र – घरमा ढिँडो नपाक्ला रे, फास्टफुड नामका सम्पूर्ण परिकारले पिठोको ठाउँ लाखौं गुना बढी लिएका छन् । पाखा भित्तामा हिँड्नुपर्ने बाध्यकारी त्यो दुख अहिले साहसिक खेलमा अनुवाद भएका छन् । एउटी आमाले ९ महिना कोखमा राखेर बच्चा जन्माउनु प्रकृति हो । त्यो बच्चीले ९ महिनापछि अर्को बच्चा जन्माउने त हैन रहेछ नि । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मवादीहरुको अराजक गतिविधि पनि यस्तै उत्ताउला विश्लेषणतिर सीमित रहे । चुरौटे हैन, कुरौटेबाट देश प्रताडित बन्दै गएको छ ।

एक दशकअघिसम्म राष्ट्रपति पदका लागि मूलधारका राजनीतिक दलहरुले उम्मेदवार नै भेट्दैनथे । आलंकारिक पदमाथि कसैको ध्यान जाँदैनथ्यो । पहिलो र दोस्रो राष्ट्रपति डा. रामवरण यादव र विद्या भण्डारी यही मनोविज्ञानका उपज थिए । तर राष्ट्राध्यक्षको चलखेलले राष्ट्रिय राजनीतिमा धक्का लाग्न थालेपछि शीर्ष नेताहरुको अर्जुनदृष्टि यही पदमा सोझिएको छ । देशका लागि साधक कम, उन्नयनको बाधक बढी राष्ट्राध्यक्षको परिकल्पनाले नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्न थालेको छ । फेरिएपछि हरेक राजनीतिक दलमा राजनीतिक महत्वाकांक्षा चुलिएको छ । एकथरि भन्छन्- अब विश्वयुद्ध भयो भने पानीका लागि हुन्छ । तर नेपालमा न्यायका लागि अझै युद्धको खतरा टरेको छैन । न्याय मरेको देशमा अरु सवै संकल्प पाखण्ड शिवाय केही हुँदैन । त्यही भएर त हो नि हाम्रो पर्रि्रेक्ष्यमा कानून माकुराको जालभन्दा माथि उठ्न सकेको छैन । जहाँ साना अड्कन्छन, ठूला उम्कन्छन् । खलिल जिब्रानले भनेका छन्- ‘कुटिलता कहिलेकाहीँ मात्र सफल भएको छ । यो सधैं आत्मघाती सिद्ध भएको छ ।’ नेपालमा संविधान एकातिर छ तर संविधानले निर्देशित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको ठाउँ क्रसर सञ्चालक, मेनपावर व्यवसायी, जग्गा दलाल र शक्तिका पुजारीहरुले लिएका छन् । यो देशमा १५ लाखमाथि रहेको जनसंख्या काम हैन, राजनीति गर्छ । काम गर्ने अख्तियारी लिएर राज्यबाट पारितोषिक लिनेहरु नेताहरुलाई राजनीति सिकाउँछन् । मावलमा देखेको ठूलो आकारको ‘क’ घरमा नदेख्दा रुने कालिदासका चेलाहरु देशका सवै भीआईपी र भीभीआईपी पद ओगट्छन् । झुक्किएर स्कुल उपस्थित हुनेहरु अहिले नवधनाढ्य भएर तिनीहरुको पालनपोषण जिम्मा लिन्छन् । अनि स्कुलको अनुहार नदेखेका बज्रस्वाँठहरु महात्मा बनेर यी सबैलाई खुट्टा ढोगाउने ज्ञानी, महात्मा, सन्त दरिन्छन् । मन्त्रीभन्दा पीए, पीएभन्दा ड्राइभर शक्तिशाली हुनु नै त देश ओरालो लाग्नुको पूर्वाभ्यास हो । आखिर हिजो र आजको श्रृंखलामा भोलि टाँसिएर आउने हो । कुनै मान्यता भत्काउँदा त्यहाँ ठड्याउने आस्था तयार गर्न सकिएन भने त्यसले सधैं अन्धकार निम्त्याउँछ ।

जतिसुकै सुशासनको रटान लगाए पनि बाघले मृगको शिकार गर्न छोड्दैन । गाई मांसाहारी हुँदैन । लामखुट्टे टोकेर भाग्न छोड्दैन । पशुपतिको बाँदरले भक्तले बोकेको केरा थुत्नबाट सन्यास लिँदैन ।सूर्य उत्तरबाट उदाएर दक्षिणमा अस्ताउने होइन । नेपालको भूगोल तन्किने, खुम्चिने प्रश्नै रहेन । सेनाको व्यारेक सरेजस्तो जनता साटिने पनि होइन । छिमेकी र सन्तानको रंग रुप इन्द्रेणी बनेर फेरिने होइन । अनि नचाहिँदा कोकोहोलोको के अर्थ ? पानी जतिसुकै तरल भएपनि त्यसको शोभा चट्टानसंग भएजस्तै नेताहरु जतिसुकै नालायक भएपनि तिनीहरुको साइनो लोकतन्त्रसंगै सुहाउँछ । कहिल्यै नभुलौं- ‘सत्यभन्दा संग्रहयोग्य अर्को बस्तु छैन । यो घुमाउरो बाटो हिँड्दैन ।’

महाभारत, रामायण, पुराणहरुलाई बाचकहरुले समयसापेक्ष भाषिक र यान्त्रिक रुपमा आ-आफ्नै विश्लेषण त गर्लान् नै, तर सन्देशको गुत्थी एउटै हुन्छ । महिलाबादीहरुले भगवान श्रीरामले पत्नी सीतालाई अग्निकुण्डमा होमेर नारीमाथि शोषण गरेको आरोप लगाउन सक्छन् तर लोकतन्त्रवादीहरुले जनताको गुनासो आएपछि एउटा लोकतन्त्रवादी राजाले विधिमाथि कोही छैन भन्ने मान्यता स्थापित गर्लान । फेदबाट हेर्‍यो भने अंग्रेजी वर्णको ६ अंक एकातिरबाट ६ नै देखिन्छ भने अर्कातिरबाट ९ । यसलाई कताबाट हेरेर विश्लेषण गरिन्छ भन्ने महत्वपूर्ण हो । चिनेको मानिसलाई सरकारको सिन्दुर पहिर्‍याउने तदर्थवादबाट नेपालको निजामती प्रशासन शुरु भएको हो । पुस्तौनी आफ्नो चाकरीमा विताएको परिवारका सदस्यलाई पाँच पास गर्नासाथ न्यायाधीश बनाइदिने, गोरु बेचेको साइनो पनि नभएका तर विद्वान दीक्षितलाई मुखियाको काम दिने राणातन्त्र धेरै क्रान्तिकारीहरु सत्तामा आएपछि परिवर्तन भएन । त्यो बेला नियुक्ति पाएकाले त कमसेकम मालिकप्रति अथाह भक्तिभाव श्रद्धा प्रकट गर्थे । यदि सोचे अनुसार नभएको खण्डमा तिनीहरुलाई पाताल भसाउने सामर्थ्य उनीहरुमा सधैं रहन्थ्यो । अहिले बुई चढाएर माननीय न्यायाधीश बनाइएकाहरुको कर्म हेर्दा गुनले गुन खान्छ, म तँलाई खान्छु को दिशातिर हुत्याइरहेको छ ।
घरमा अन्न हुनेलाई भन्दा नहुनेलाई बढी भोक लाग्छ । पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थीहरु सानो भन्दा सानो विषयमा पनि अज्ञानी ठहरिए । एक अनुसन्धान अनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेंडा बोटमा फल्छ भन्ने पत्तै छैन । उनीहरुको बुझाइमा यो माटोमुनि फल्छ । एक तिहाई प्राथमिक विद्यालयका विद्यार्थीहरु भन्छन्- चीज रुखमा फल्छ । १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन् । के यसो भन्दैमा लोकतन्त्रको जननी बेलायतलाई दुत्कार्न मिल्छ ? अहँ मिल्दैन । भनिन्छ- ‘उपयोग विनाको धन काम छैन । नम्रता विनाको विद्या काम छैन । सहयोग विनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होस विनाको जोस काम छैन । पापसंगैको धर्म काम छैन । परोपकारविनाको जीवन काम छैन । योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन ।’

एकजना अमेरिकी लेखकले भनेका छन- लेख, केही न केही लेख । केही पाएनौ भने सुसाइड नोट भएपनि लेख । भनिन्छ, लेख्न कठिन छैन । आफ्ना अगाडि रित्तो पन्ना फैल्याउ र हृदयलाई तप्किन देऊ, आफै लेखिन्छ । राम्रो अनुष्ठान गर्नेहरुका लागि हरेक समय शुभ साइत हो । २४ घण्टाको यही समयले कसैलाई विल गेट्स बनाएको छ त कसैलाई विन लादेन । देशमा तेलैतेलको खानी भएर के गर्नु ? हातमुख जोर्न नपाएका सुडानी दुई देशमा विभाजित भएर भूगोल हैन, भोक बाँडेका छन् । यही २४ घण्टाभित्रै विन लादेन विदा भएका छन् । उनको मृत्युमा दुखीभन्दा जयजयकार गर्ने भीड बढी देखिएको छ । तर ९० को हाराहारी लोकबाट विदा भएका नेल्शन मण्डेलाको जीवन विश्वकै लागि अपुग भएर खड्किएको छ । भौतिक उपलब्धताको दृष्टिले दलाई लामासंग के छैन ? तर देश नहुँदाको पीडा कस्तो हुन्छ ? देश धेर भएका हाम्रा नेताहरुले उनको मनोविज्ञान पढे घाँटी घाँटीसम्म थाहा हुन्छ । मानिसहरु समस्याका कारण आतिन्छन, रुन्छन, कराउँछन, गुनासो गर्छन । तर समस्या त हरेक युगमा थियो । रामराज्यमा त थियो भने प्रचण्ड राज्यमा नहुने कुरै भएन । तपाईं कल्पना गर्नुस त यदि समस्या नहुँदो हो त मानिस चौबीस घण्टा कसरी विताउँथ्यो होला ? यही समस्याकै निदान खोज्न गरेको प्रयासले नै उसले आफैले पत्याउन नसक्ने गरी आविष्कार गर्‍यो । होइन भने भीमफेदीबाट नोलमा गाडी बोकेर ल्याएको दृश्य इतिहास हैन वर्तमान हुने थियो । ***

तपाईको प्रतिक्रिया