शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृङ्खला, प्राकृतिक बनावट र सौन्दर्यताले पर्यटकहरूलाई नेपाल आउन आकर्षण गर्छ । बितेका दुई वर्ष विश्वभर फैलिएको कोरोना महामारीका पर्यटक आउने वातावरण बनेन । पछिल्लो समय अवस्था सामान्य हुँदै गएपनि पर्यटन क्षेत्रमा आशातीत उल्लास देखिएको छैन । देशको अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने पर्यटनलाई बुझेर सरकारले वर्ष २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसमा पर्यटन विभागले सरकारको सहयोगीका रूपमा काम गरिरहेको छ । नेपालको पर्यटन व्यवसायलाई उकास्न के कस्ता काम हुँदैछन् त ? यसै विषयमा केन्द्रित रहेर विभागका महानिर्देशक होमप्रसाद लुइँटेलसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । यस लक्ष्य पूरा हुन्छ ? 
विश्वमै कोभिड महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पर्यटन हो । एक हिसाबले कोभिड पर्यटन क्षेत्रका लागि ‘अभिशाप’ नै बन्यो । कोभिडले विश्वकै पर्यटन क्षेत्रलाई तहसनहस बनाइदिएको छ । घुमफिर गरेर रमाउने मानिसहरू घरमै थुनिएर बस्दा पर्यटन ‘शिथिल’ बन्यो । अब बिस्तारै महामारी कम हुन थालेको र पर्यटन क्षेत्र पनि तंग्रिन खोजेको छ । अहिले पर्यटन पुनरुत्थानमा विश्वका सबै देश आकर्षक प्याकेजसहित प्रतिस्पर्धामा उत्रिएका छन् । नेपालले पनि यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसमा खुसीको कुरा भन्नुपर्छ, सन् २०२२ को सुरुवातसँगै नेपाली पर्यटनमा आशाका किरण देखिन थालेका छन् । विदेशी पर्यटक बढ्दा एक खालको उत्साह नै थपिदिएको छ । यसरी नै पर्यटन क्षेत्रको विकास हुँदै जाने हो भने यस वर्ष (सन् २०२३)मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिन्छ ।

पछिल्लो समय पर्यटन विभागले के-कस्तो काम गर्दै आएको छ ?
यहाँ भएका ट्राभल ट्रेकिङ दर्ता नवीकरण र खारेजी गर्न कार्य र अन्य यससँग सम्बन्धित जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरेका छौँ । प्रस्तावित पर्यटन ऐनमा हामीले कम्तीमा ३ तारेसम्मका होटलहरू वर्गीकरण गर्ने, स्तरवृद्धि गर्ने प्रस्ताव प्रदेश तहबाट नै हुने भनेका छौँ । पदयात्रा, हिमाल आरोहण गर्ने, पर्यटकलाई नेपाल आगमनमा सहजीकरण गर्ने काम गर्दै आएको छु । विनिमयका सुविधाजन्य काम अनुगमन, नवीकरण, साहसिक क्रियाकलापमा -याफ्टिङ, क्रुज, जिपलाइनिङ, बन्जिजम्पिङ्स, यसको ईआईए, आईए, दर्ता र सहजीकरण गर्दा, त्यस्तै पूर्वाधारमा ट्रेकिङ, ट्रले, जियस्टी, पर्यटकीय गन्तव्यको विकास, साथै भएका पर्यटकीय पूर्वाधारको मर्मत-सम्भार गरेर सञ्चालनमा सहजीकरण गर्छौं । नीति तथा संघीयताअनुसार कार्यक्षेत्र प्रदेशमा दिएका छौँ । त्यसमा पनि समन्वय गरिरहेका छौँ । पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि नयाँ गन्तव्य र पूर्वाधारमा पनि जोड दिनुपर्छ भनेर विभागले आवश्यक अध्ययन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि नियामक र सेवाप्रदायक छुट्याउन सुझाव दिएको छ । हामीले युरोपियन मुलुकलाई कुनै पनि हालतमा चिढ्याउन हुँदैन । त्यो स्रोत मार्केट हो ।

०७२ वैशाख १२ को महाभूकम्पपछिको पुनर्निर्माण र पर्यटकीय गन्तव्यहरूको पूर्वाधारको काम कहाँ पुग्यो ?
पुनर्निर्माण र पर्यटकीय गन्तव्यहरूको पूर्वाधारको काम भइरहेको छ । २०७२ सालको भूकम्पपछिका पदमार्ग लाङटाङ, अन्नपूर्ण, मनास्लु साथै केही पदमार्गको मर्मत-सम्भारको काम पूरा गरेका छौं । तोकिएका कामहरू गत वर्ष र अघिल्लो ठाउँमा हामीले निर्माण तथा मर्मतसम्भार सम्पन्न गरेका छौं । मनास्लु बेसक्याम्प, चौरीखर्कमा पनि बाटो निर्माणको काम भइरहेको छ । साथै उद्धारका लागि, मुक्तिनाथ र मानसरोवर हिल्लासा तीर्थ यात्रामा जानेहरूको स्वास्थ्यलाई ध्यानमा राखेर उद्धार केन्द्र स्थापना गर्दैछौं ।

पर्यटन अर्थतन्त्रकै अभिन्न अंग हो । यसलाई सरकारको आयसँग कसरी जोड्न सकिन्छ ? 
हो, वैदेशिक मुद्रा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने पर्यटन क्षेत्र रोजगारी सिर्जनामा पनि अग्रणी मानिन्छ । युएनडब्लुटिओको अध्ययनले प्रत्येक १२ जना जागिरेमा एकजना पर्यटन क्षेत्रमा आबद्ध रहेको देखाएको छ । पर्यटकमार्फत कति विदेशी मुद्रा भित्रिन्छ र विदेशी मुद्रा राष्ट्रका लागि कति महत्त्वपूर्ण छ भन्ने आज श्रीलंकाकै ज्वलन्त उदाहरण हामीसामु छ । कोभिडअघि पर्यटन क्षेत्रबाट करिब ७०-७५ करोड अमेरिकी डलरसम्म आम्दानी भएको थियो । तर, गत आर्थिक वर्षमा पर्यटकमार्फत ३२ करोड ४४ लाख अमेरिकी डलर भित्रिएको छ । यो अलि भयावह अवस्था नै हो । यो क्षेत्रलाई जोगाउनु हाम्रो दायित्व हुन्छ । विश्वका ठूला हिमाल, धार्मिक स्थल, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदालगायत पर्यटकीय विविधताले भरिपूर्ण हुँदाहुँदै पनि वर्षको १० लाख पर्यटक पु-याउने लक्ष्य झन्डै एक दशकको प्रयासपछि सन् २०१८/०१९ मा आएर पूरा भयो । तर, त्यो खुसी साट्न नपाउँदै कोभिड महामारीले निमोठ्यो । पछिल्लो समय कोभिड कम हुँदै गएपछि पर्यटक आगमन निरन्तर बढ्दो छ ।

तर हवाई सुरक्षा नेपालका लागि चुनौती बनिरहेका छ नि ! बर्सेनि भइरहने दुर्घटनाले नकारात्मक सन्देश जानेमा सरकार सचेत भएको देखिँदैन ?   
हामीले यो स्वीकार गर्नै पर्छ कि, अहिले नेपाल एउटा सस्तो गन्तव्यको रूपमा बिक्री भइरहेको छ । हामीले नेपालको ‘भ्यालु’ नबुझेको हो कि भन्ने आभास भएको छ । संसारकै सर्वोच्च शिखर नेपालमा छ । बुद्धको जन्मथलो, सीताको भूमिजस्ता महत्त्वपूर्ण स्थान हुँदाहुँदै पनि हामीले यस्ता महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बिक्री गर्न सकेका छैनौँ । यिनै पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमात्र पनि हामीलाई १० लाख पर्यटक भित्र्याउन गाह्रो पर्दैन । हवाई दुर्घटनाले पर्यटक आगमनमा नकारात्मक असर पर्छ नै । यसतर्फ सरकार, मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणले ध्यानाकर्षण भएको मैले बुझेको छु ।युरोपेली युनियन (इयू)को गम्भीर सुरक्षा चासो र हाम्रो हवाई दुर्घटनालाई कसरी हेर्नुभएको छ ?
इयूले नेपाली वायुसेवालाई सुरक्षाको कारण देखाउँदै आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाएको छ । आफ्ना नागरिकलाई आन्तरिक हवाई सेवा पनि सकेसम्म प्रयोग नगर्नु भनेको छ । ‘उड्डयन क्षेत्रको नियामक र सेवाप्रदायक एउटै निकाय हुनु हुँदैन, यसो हुँदा सुरक्षा प्रत्याभूति १०० प्रतिशत हुँदैन’ भन्ने इयूको आफ्नो धारणा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि नियामक र सेवाप्रदायक छुट्याउन सुझाव दिएको छ । हामीले युरोपियन मुलुकलाई कुनै पनि हालतमा चिढ्याउन हुँदैन । त्यो स्रोत मार्केट हो । कुनै बेला नेपाल एयरलाइन्सले युरोपमा उडान गरेर नेपाल आउने ६५ प्रतिशतभन्दा धेरै पर्यटक बोकेर ल्याउँथ्यो । नेपाल एयरलाइन्सले युरोप उडान गर्न छाडेपछि त्यसको प्रतिस्थापन अहिलेसम्म हुन सकेको छैन । युरोपसँग कनेक्टिभ फ्लाइट नहुँदा नेपाली पर्यटन उद्योगले धेरै गुमाइरहेको छ । युरोपमा सीधा उडान गर्नैपर्छ । हामीले धेरै पर्यटक ल्याउन युरोप, अमेरिका, अस्ट्रेलियालगायत मुलुकहरूमा सीधा हवाई सम्पर्क बढाउन जरुरी छ । यसका लागि इयूले देखाएको कन्सर्नमा ध्यान दिनैपर्छ । नेपाल ईयूको कालो सूचीबाट हट्न सकेको छैन । यस्तो प्रतिबन्धले नेपालको आकाश असुरक्षित छ भन्ने सन्देश प्रवाह हुँदा नेपालको पर्यटन विकासमा यसले नकारात्मक असर पारेको देखिन्छ । हवाई उडान सुरक्षाको प्रत्याभूतिको प्रमुख विषय नियामक निकायको उडान सुरक्षा निगरानी क्षमतामा वृद्धि नै हो र त्यसको लागि उडान सुरक्षा निगरानी क्षमताको स्थापना र सोको आधारमा सेवाप्रदायकको नियमनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ ।

हामीले कहिल्यै नेपालमा सी (समुद्र) स्यान्ड (बालुवा) र सन (घाम) को अनुभव लिन सकिन्छ भनेर प्रचार गर्न सकेनौँ, अब त्यसरी प्रचार गर्नुपर्छ । अब नेपालमा सगरमाथा मात्रै छ भन्ने होइन ।

नेपालमा एक पटक घुम्न आएका पर्यटक फेरि दोहोरिँदैनन् भन्ने पनि सुनिन्छ, यस्तो अवस्थामा फेरि आउने वातावरण बनाउन के गर्नुपर्ला ?
हामी विदेशमा घुमेर आएपछि फेरि जाऊँ जाऊँ लाग्ने अवस्था छ तर, नेपालमा एक पटक घुम्न आएका पर्यटक फेरि त्यहाँ जान नपरोस् भन्ने सोच्दै बाहिरिएको भन्ने सुननमा आउँछ । पर्यटन विकासमा ब्रान्डिङ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यसका लागि पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका पर्यटन व्यवसायीहरूसँग छलफल गर्दैछौँ । अर्को कुरा, नेपाललाई माया गर्ने पर्यटकमार्फत नेपालको प्रचार गर्न सकेको खण्डमा यो अभियानलाई सफल रूपमा अगाडि बढाउन सकिन्छ । यसका लागि सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकले नेपाल त यस्तो एउटा मुलुक हो, जहाँ संसारमै नभएको उत्कृष्ट वस्तु पाईन्छ भनेर प्रचार गरिदिनुस् भन्ने अभियान चलाउन आवश्यक छ ।

पर्यटनबाट लाभ लिन कहाँ चुक्यौँ ?
नेपाल पर्यटकीय विविधतामा अब्बल छ । हाम्रो ‘सर्भिस’ राम्रो छ, ‘प्रडक्ट’हरू पनि उत्कृष्ट छन् । एक-आधा घण्टाको यात्रामै तराईको हपहपी गर्मीबाट ठन्डा मौसम भएको हिमालयको काखमा पुग्न सकिन्छ । यति सानो मुलुकमा १० वटा ‘हेरिटेज साइट’ छन् भने विश्वका अधिकांश अग्ला हिमाल यहीँ छन् । कला, संस्कृति र सम्पदामा पनि धनी छौँ । यति हुँदाहुँदै पनि किन पर्यटनमा फड्को मार्न सकेनौँ त ? यसको अर्थ, हामी कहीँ न कहीँ नीति निर्माण र प्लानिङमा चुकेका छौँ । हामीले पर्यटनलाई ‘लिब सर्भिस’का रूपमा मात्र लियौँ । कतै ‘पर्यटक भनेको आइहाल्छन्, आज नआए भोलि आउँछन् नि’ भनेर हल्का रूपमा सोच्यौँ कि ? यो कोणबाटमा हामीले अध्ययन गरेका छौँ । यसको सुझाव मन्त्रालयलाई पेस गरेका छौँ, आवश्यक काम कारबाही अघि बढ्छ भन्ने अपेक्षा छ ।

अन्त्यमा विभाग पर्यटन विकासका लागि कसरी अगाडि बढ्छ ?
नेपालको पहिचान नै गलत तरिकाले गरियो । नेपाल भनेपछि सगरमाथा भन्ने गरियो । नेपालको पहिचान बदल्नुपर्छ । यो सगरमाथा कति पटक भन्छौँ ? जम्मा दुई पटक भन्छौँ । दुई वटा सिजनमा मात्रै नेपालको पर्यटन चलाउने हो भने चल्दैन । अब नेपालमा सगरमाथा मात्रै छ भन्ने होइन, हामीसँग ६० मिटरको कम उचाइको भूमि छ, विश्वको अग्लो स्थान पनि छ । नेपालमा सगरमाथा मात्रै नभएर अन्य कुराहरू पनि छ भनेर प्रचार गर्नसक्नुप-यो । यस्तो प्रचारले एउटा निश्चित उमेर समूहका मानिसहरू मात्रै नेपाल घुम्न आए । विदेशीहरू समुद्रमा गएर बस्न रुचाउँछन् । तर हामीले कहिल्यै नेपालमा सी (समुद्र) स्यान्ड (बालुवा) र सन (घाम) को अनुभव लिन सकिन्छ भनेर प्रचार गर्न सकेनौँ, अब त्यसरी प्रचार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया