काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई द्वन्द्वकालिन मुद्दा ब्युँताएर जिस्क्याउन खोजिएको बताएका छन् ।
माओवादी जनयुद्धका क्रममा ५ हजार मानिस मारिएको जिम्मा आफूले लिने भन्दै अभिव्यक्ति दिएका पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर उनीमाथि मानव हत्याको मुद्दा सर्वाेच्चामा दर्ता गर्न मिल्ने फैसला अदालतले गरेपछि डा. भट्टराईले यस्तो बताएका हुन् ।
‘द्वन्द्वकालिन राजनीतिक मुद्दा व्युँताएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन खोजियो,’ उनले भने, ‘यो माओवादीलाई जिस्क्याउने काम भएको छ । अब पूर्व माओवादी मिल्नुको विकल्प छैन । मैले त मन बनाइसकेको छु । साथीहरुलाई पनि भनेको छ । एउटा मोर्चा बनाएर अघि बढौँ ।’
आफूहरु परिवर्तनको लडाइँका अभियान्ता भएको भन्दै उनले अहिले माओवादीमा भँगाला फुटेको बताए । भँगालाहरु अन्त्यमा मिल्ने भएकोले अब माओवादीका इमानदार भएर मिल्नुको विकल्प नभएको उनले बताए । ‘धेरै हामी इमानदार नै छौँ,’ उनले भने, ‘हामी मिल्नुको विकल्प छैन । आफ्नो चेतनाका स्तरहरु हुन्छन् । बुझाइको चेत हुन्छ । अलग भयौँ भन्दैमा हामीले एक अर्कालाई दलाल र गद्दार नै हो भनेर भन्नु गलत हो । आरोप लगाउनु गलत हो ।’
आफूहरुले १० वर्ष गरेको सशस्त्र जनयुद्ध सफल भएको उनले बताए । आफूहरुले आन्दोलनलाई सफल बनाउनकै लागि २०६२-६३ मा शान्ति सम्झौता गरेको बताए । अब पूर्व माओवादीहरु मिल्नु पर्ने उनले बताए । अब फेरि माओवादी नै भनेर पार्टी बनाउनुको आवश्यक नभएर पहिलेको माक्र्सवादलाई आदर्श मानेर फुटेका माओवादीहरु मिल्नु पर्ने उनको भनाई छ ।