शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कोही व्यक्तिले आफ्नो ओछ्यानको तन्ना कति समयपछि धुने वा परिवर्तन गर्ने ? यो प्रश्न सुन्दा त्यति महत्त्वपूर्ण नलाग्न सक्छ । कसैलाई यस विषयप्रति गम्भीर र गहन तरिकाले बहस गर्नु नै जरुरी छैन भन्ने पनि लाग्न सक्छ ।

तर यो यति महत्त्वपूर्ण विषय हो कि यसले मानिसमा प्रभाव पार्छ । बेलायतमा २२ सय ५० जनामा एउटा सर्वेक्षण गरिएको थियो । नतिजामा आधा अविवाहित पुरुषहरूले ४ महिनासम्म पनि ओछ्यानको तन्ना नधोएको पाइएको थियो ।

त्यस्तै, सर्वेमा सहभागी १२ प्रतिशत व्यक्तिले तन्ना फोहोर भएको त्योप्रति आफ्नो ध्यान गएमा मात्र धुने गरेको बताएका थिए । यस्तो अवस्थामा तन्ना धुने र फेर्ने अवधि अझ लामो हुन सक्छ । मनोवैज्ञानिक, न्युरोसाइन्टिस्ट र निन्द्रा विशेषज्ञ डा. लिन्डसे ब्राउनिङले यसरी तन्ना परिवर्तन नगर्नुलाई खराब बानी भनेकी छन् ।

तन्ना परिवर्तन गर्न किन आवश्यक छ ?
सर्वेमा एक्लै बस्ने महिलाले धेरै छिटो तन्ना फेर्ने गरेको पाइएको थियो । तथ्याङ्कअनुसार ६२ प्रतिशत महिलाले प्रत्येक २ हप्तामा आफ्नो ओछ्यानको तन्ना फेर्ने गरेको पाइएको थिए । सँगै विवाहित महिलाले भने ३ हप्ता कटेपछि मात्र तन्ना फेर्ने गरेको पाइएको थियो । डा ब्राउनिङ भन्छिन्, ‘हामीले एक र बढीमा २ हप्तामा आफ्नो ओछ्यानको तन्ना परिवर्तन गर्नुपर्छ ।’

सरसफाइ नै तन्ना परिवर्तन गर्नुपर्ने प्रमुख कारण हो । गर्मी मौसममा त झन् शरीरबाट आएको पसिनाले ओछ्यान गन्हाउने र फोहोर भएको हुन्छ । यस्तो गन्धले गर्मी झन् बढाउँछ । हामीलाई राम्रो निद्राको लागि शरीरमा शीतलताको महसुस हुनु आवश्यक हुन्छ । शीतल महसुस हुन कोठामा स्वच्छ हावाको आवतजावत पनि आवश्यक हुन्छ । निन्द्राको समयमा पसिना मात्रै नभएर हाम्रो शरीरको मरेको कोशिका पनि शरीरबाट छुट्टिन्छ । यदि समयमा नै तन्ना नधोएमा मरेको कोशिका तन्नामा विकसित हुन थाल्छ । सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो । घुन, जुम्रा, उडुस जस्ता जीवले उक्त मरेको कोसीकालाई खाएर आफू विकसित भई रहेको हुन्छ । जसले गर्दा कोठा फोहोर हुनुको साथै विभिन्न रोगहरू समेत फैलन सक्छ ।

के मौसमले प्रभाव पार्छ ?
डा. ब्राउनिङ भन्छिन्,‘जाडोमा तन्ना परिवर्तन गर्न केही ढिलो भए पनि धेरै फरक पर्दैन तर हप्तामा एक पटक परिवर्तन गर्नै पर्छ । तर एउटा तन्ना परिवर्तन गर्न कोही व्यक्ति २ हप्ताभन्दा बढी समय लिन्छ भने पक्का पनि समस्या हुन्छ । जाडोमा शरीरमा कम पसिना आए पनि मरेको कोशिका शरीरबाट छुटिरहेको हुन्छ ।’ सर्वेमा सहभागी भएका १८ प्रतिशत व्यक्तिले भने रातको समयमा नुहाउने भएकाले तन्ना कम फोहोर हुने र परिवर्तन गर्न ढिला गर्ने बताएका थिए । डा ब्राउनिङ भन्छिन्, ‘गर्मी याममा जाडो मौसमको तुलनामा धुलोको कणहरू र फूलको परागहरू पनि बढी हुने गर्छ । जसले गर्दा एलर्जी र छाला सम्बन्धी रोगहरू देखा पर्न थाल्छ । त्यसैले तन्ना परिवर्तन गरिरहने बानी बसाल्नुपर्छ ।’

सुत्ने कोठा आरामदायी हुनुपर्छ
पिजुना लिनेन्सले गरेको यो सर्वेमा ६७ प्रतिशत सहभागीले आफूलाई तन्ना परिवर्तन गर्नुपर्छ भन्ने कुरा याद नै नआउने बताएका थिए । त्यस्तै ३५ प्रतिशतले याद आउँदा पनि लापरबाही का कारण नगर्ने थिए भने २२ प्रतिशतले आफूसँग अर्को सफा तन्ना नभएर परिवर्तन नगर्ने बताएका थिए । फेरी बाँकी ३८ प्रतिशत सहभागीले भने तन्ना पटक पटक धुनु र परिवर्तन गरिरहनु आवश्यक नै नभएको बताएका थिए ।

डा. ब्राउनिङ भन्छिन्, ‘राम्रो निन्द्राको लागि हाम्रो ओछ्यान आरामदायी हुनुपर्छ । सजिलो, सफा र ओछ्यानमा बस्दा खुसी लाग्ने वातावरण भएमा मात्र राम्रो र मिठो निन्द्रा लाग्छ । मेरो परामर्शको लागि निन्द्रा नलाग्ने समस्या लिएर धेरै बिरामीहरू आउने गरेका छन् । म उनीहरूलाई सकैभन्दा पहिले आफ्नो ओछ्यान सफा र गन्धरहित बनाउने सल्लाह दिन्छु राम्रो निन्द्राको लागि निन्द्राको समस्या भएको एक व्यक्तिले गर्नुपर्ने प्राथमिक काम नै सुत्ने कोठा र तन्नाको सरसफाइ हो । यदि त्यति गर्दा पनि निन्द्रामा सुधार भएन भने परामर्शको काम अघि बढाउन सकिन्छ ।’ –बीबीसीबाट

तपाईको प्रतिक्रिया