काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचन पछि हुने बताएकी छिन् । मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।
नयाँ गठबन्धन बनेको र को-को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताइन् । त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन् । राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् ।
उनले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने जुन संवैधानिक, कानूनी प्रावधान छ, त्यो प्रावधान अनुसार गरिन्छ र समय सीमा पनि त्यसै अनुसार हुन्छ । तर अहिले हामी राष्ट्रपतिको चुनावको नजिक छौँ। राष्ट्रपतिको चुनावको नजिक भइराखेको हुनाले ध्यान त्यतातिर केन्द्रित पनि छ । त्यसकारणले राष्ट्रपतिको चुनाव पछाडि पनि हुनसक्छ ।’
उनले थपिन्, ‘राष्ट्रपतिको चुनाव अगाडि हुन्छ भन्ने कुराको कुनै मिति किटान भएको छैन । त्यसकारण तिथिमिति किटान गरेका छैनौं । तर संवैधानिक परिधि, सीमाभन्दा बाहिर नजाने गरेर विश्वासको मत लिने कार्यक्रम हुन्छ । नयाँ ढंगको परिस्थिति विकास भएको छ । मन्त्रिपरिषद् बिस्तारको कुरा पनि सम्भवतः मलाई लाग्छ, राष्ट्रपतिको निर्वाचन पछाडि नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र । सरकारबाट निस्किसकेको अवस्थामा कुन–कुन पार्टी सरकारमा प्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि त्यसपछि मन्त्रिपरिषद् बिस्तार हुन्छ ।’