शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

लोक शब्दलाई शिरमा राखेर काम गर्ने हो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय समिति समावेशी बन्नु पर्ने जरुर देखिन्छ । कुनै पनि जिल्लाको प्रतिनिधि नेतृत्वमा आउन चाहन्छ भने उक्त जिल्लाबाट अरू कुनै पनि मुख्य पदाधिकारी पदमा अरू नै जिल्लाको हुनुपर्दछ । देशैभरिको लोक संस्कृतिलाई जगेर्ना गर्ने आट लिएर आएको प्रत्याशीले आफ्नो जिल्लाका कलाकारहरूलाई पदभन्दा बाहिर रहेर भएपनि आफूलाई सहयोग गर्न सक्ने गरी मनाउनु पर्दछ ।

मौलिक लोक गीत सङ्गीतको उद्गमस्थल भएको कारण स्वाभाविक रूपमा राष्ट्रिय स्तरसम्म गण्डक क्षेत्रका कलाकारहरू धेरै भएको कारण गण्डक क्षेत्रका कलाकारहरू नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिमा हाबी देखिनु स्वाभाविक हो पनि । आगामी दिनमा देशैभरिका सबै जिल्लाबाट पदाधिकारी तहमै प्रतिनिधित्व गराउने कसरत नगरीकन समग्र मौलिक लोक संस्कृतिको संरक्षण संवर्द्धन गर्न सकिँदैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आसन्न आठौँ महाधिवेशनमा यसको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ ।

स्मरण रहोस् स्याङ्जाकै स्रष्टा चर्चित गीतकार रमेश बिजीले नेतृत्व गरेको वर्तमान कार्य समितिको महत्त्वपूर्ण पदाधिकारी पदहरूमा स्याङ्जा जिल्लाकै मात्र करिब ५०% प्रतिशत पदाधिकारी रहेको र बिजीको यो कार्यकालमा तारिफ योग्य कुनै पनि काम नबनेको कारण खासै सम्झन लायक नरहेको जिकिर गर्नेहरू पनि आजभोलि बाक्लै भेटिन थालेका छन् । उनीहरूको आरोप अनुसार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अहिलेसम्मका सातवटै कार्यसमितिमा सबैभन्दा असफल कार्यकाल वर्तमान नेतृत्व रहेको आरोपसमेत उनीहरूको रहेको छ ।

संस्थालाई सीमित व्यक्तिहरूको झुण्डले सञ्चालन गरिरहेको, कलाकार एवम् संस्थासँग जोडिएका धेरै जिल्ला एवम् प्रदेश कमिटीसहित कैयौँ लोकगीत सङ्गीतसँग व्यक्तिहरूको शेयर जम्मा गरेर सहकारी खोलेर मोटो रकम हिनामिना गरेको र पछिल्लो समय सहकारी नै अस्तव्यस्त पारेको, संस्थाका बैठक सेमिनार र प्रशिक्षण महँगा आलिसान होटल रेस्टोरेन्टमा गराएर संस्थालाई आर्थिक मारमा पारेर जिल्ला एवम् क्षेत्रीय अधिवेशनमा आफू निकटमा मान्छेहरू भर्ती गर्न पदको दुरुपयोग गरेको आफू इतर र फरक मत राख्ने पक्षलाई सदैव निषेधको नीति अवलम्बन गरेकै कारणसँगै काम गरेका धेरै साथीहरू बाध्य बनेर वर्तमान कार्यकालमा लोक गीत सङ्गीतकै उस्तै प्रवृत्तिको नयाँ संस्था जन्माएर संस्थामा फुटको बीजारोपण गरेको आदि रहेका छन् । खैर असन्तुष्ट पक्षको यो आरोप साँचो ठहरिएला अथवा मिथ्या साबित होला पक्कै पनि भोलिको परिस्थिति र समयले पक्कै मूल्याकंन गर्नेछ।

प्रतिष्ठानको नेतृत्व स्याङ्जा र पाल्पा जिल्लाको मनोविज्ञानबाटमाथि उठ्न नसकेको स्वीकारोक्ति संस्था भित्रैका जिम्मेवार पदाधिकारीहरूको पनि रहेको छ । सङ्कीर्ण सोचले लोकदोहोरी क्षेत्रको विकास असम्भव कुरा हो । संस्थामा लोकदोहोरी मात्र नभएर सबै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका लोक संस्कृति क्षेत्रका व्यक्तित्वलाई समेट्नु पर्ने देखिन्छ । सीमित घेराभित्र नेतृत्वको मन पनि साँघुरो हुनाले प्रतिष्ठानमाथि चौतर्फी प्रश्न चिन्ह खडा हुनु पनि सोचनीय विषय बनेको छ।

हुन पनि झट्ट हेर्दा स्याङ्जाकै वर्तमान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष हुँदा दोस्रो वरियताको पद वरिष्ठ उपाध्यक्षमा रिता थापा मगरको नेतृत्वमा दाबीसँगै यही क्रमले निरन्तरता पाइरहने हो भने पशुपति, रामजी, शिव र खुमन सम्म आइपुग्दा अझै १५/२० वर्ष नेतृत्व स्याङ्जामै रहिरहने कुरा को आकलन गरिनुलाई पनि अनर्थ मान्न सकिँदैन । त्यसैले यो समस्यालाई निराकरण गर्न विधानमै निर्क्योल गरेरै भएपनि माथिल्लो वरियताका दुई पदमा एउटै जिल्लाबाट रहन नपाइने गरी परिमार्जित गर्नुपर्ने देखिन्छ ।

अझ संस्थामा आफ्ना मान्छेलाई काखी च्याप्न खडा गरिएका अशोभनीय पदहरू निकै भद्दा देखिएका छन् । कार्यसमिति निकै जम्बो बनेका कारण महत्त्वपूर्ण भूमिका निभाउने पदाधिकारीका पदहरूको महत्त्व पनि अर्थहीन र ओझविहीन बनेको अनुभूति हुन्छ । पूर्वबाट पूर्वेली, किराँती, भोजपुरी, मैथिली, मध्य नेपालको काठे थारु हुँदै गण्डक क्षेत्रका ठाडो सालैजो झ्याउरे यानिमाया रोइला सोरठी मध्यपश्चिम र सुदूरपश्चिमका देउडासम्म का लोकपन र संस्कृतिलाई नअटाई कन राष्ट्रिय लोक संस्कृतिलाई न्याय दिएर काम गर्न सकिँदैन भन्ने कुरा मा दुई मत छैन ।

त्यसैले आगामी कार्यसमितिमा रहेका काम गर्न चाहने प्रत्याशीहरूलेमाथि सवाल गरिएका विभिन्न समस्याहरूमा आफ्नो स्पष्ट भिजन बनाएर मैदानमा आउनु हुन विनम्र अनुरोध गर्दछु । साथै सम्पूर्ण प्रतिनिधिहरूले पनि विवेक पुर्‍याएर हाम्रो भन्दा पनि राम्रो प्रत्याशीलाई अनुमोदन गराउन आफ्नो अमूल्य मतको सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित यसै साता धादिङबेशीमा सम्पन्न हुन गइरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । इतिश्री
जय लोकगीत
जय संस्कृति
जय जननि

  • लेखक सुवेदी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका सहसचिव हुन् ।
तपाईको प्रतिक्रिया