काठमाडौँ – ट्रमा सेन्टरका डाक्टरमाथि कुटपिट गरेको भन्दै निलम्बनमा परेका प्रहरी हवल्दार शम्भुजंग गुरुङको निलम्बन फुकुवा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको भन्दै गुरुङलाई काठमाडौं प्रहरी परिसरले निलम्बन गरेको थियो । बिहीबार परिसरले सो प्रकरणमा हवल्दार गुरुङको कुनै कमजोरी नभएको भन्दै निलम्बन फुकुवा गरेको हो । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत छन् ।
राष्ट्रपतिको सवारीका क्रममा सुरक्षा प्रोटोकलअनुसार ट्राफिक रोकिएको थियो । त्यसैबेला चिकित्सक र प्रहरीबीच मुक्कामुक्की भएको थियो । यो प्रकरणपछि भीभीआईपीको सवारी रुटमा ट्राफिक रोकिने विषयमा बहस सुरु भएको छ ।