बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – मिस नेपाल–२०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  ।यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू घोषणा गरिने हुने आयोजकले जनाएको छ ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । काठमाडौं अडिसन आगामी चैत ४ गते तथा इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन आवेदन सङ्कलन गरिएलगतै गरिने अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।

यो वर्षको मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुनेछ ।पत्रकार सम्मेलनमा आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीहरुले मिस नेपाल २०२३ मा आवेदन दिनसक्ने बताए ।

इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ ।पत्रकार सम्मेलनमा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, मिस नेपाल अर्थ २०२२ डा.सरिशा श्रेष्ठ तथा मिस नेपाल वर्ल्ड २०२२ प्रियङ्का रानी जोशीले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाएका थिए ।

 

तपाईको प्रतिक्रिया