शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

‘सेचुबुन नो ही’ 節分の日 पनि जापानमा एउटा पर्वकै रूपमा मनाउने चलन छ । यस दिनबाट जापानमा ऋतुहरूमा परिवर्तन आउँछ भन्ने मान्यता रही आएको छ । हामीलाई त फेब्रुअरी मध्य शिशिर ऋतु (जाडो मौसम) हो । तर जापानमा यो दिनदेखि वसन्त ऋतुको आगमन भएको मानिन्छ ।

खासमा फेब्रुअरी महिनाको चार तारिखसम्म जापानमा शिशिर ऋतु र फेब्रुअरी ५ तारिखदेखि ‘हारू’ 春अर्थात् वसन्त ऋतुको आगमन हुन्छ भन्ने विश्वास छ ।

यो दिन जापानमा ‘सेचुबुन नो ही’ अर्थात् हाम्रो लुतो फाल्ने जस्तो चलनचली आएको छ । विभिन्न प्रसिद्ध मठ मन्दिर お寺 या जिन्जा 神社 हरूमा कुनै न कुनै विधामा प्रसिद्ध व्यक्तिहरूलाई बोलाएर भुटेको भटमास अथवा बदामका कोसाहरू फाल्न लगाएर ओनी-वा-सोतो, फुकु, वा-उचि- भनि (खुसीयाली भित्र, भूतहरू बाहिर) भनेर भटमासको दानाहरूले भूतहरू भगाउने चलन छ । र यो दिन आफ्नो उमेर बराबरको भटमासको दाना गनेर खाएमा वर्षभरी रोग व्याधीले सताउँदैन भन्ने जनविश्वास पनि रही आएको छ ।

यो चलन मनाएमा सेचुबुनले जापानमा सबै व्यक्तिहरूमा राम्रो भाग्य उदय गराउँछ भन्ने पनि मान्यता पनि रही आएको छ । तर जवान जापानी केटाकेटीहरू सबै भन्छन्, ‘म यस चाडसँग परिचित छु, तर म यो चाडको मौलिक अर्थ र यसलाई मनाउने औपचारिक तरिकाको बारेमा भने म अनिश्चित छु ।’ अचम्मको कुरा नवपुस्ताका यस्ता धेरै युवाहरू छन् जापानमा जसलाई परम्परागत चाडको बारेमा थाहा नै छैन अथवा थाहा भएर पनि पालना गर्दैनन् ।

हरेक वर्षको फेब्रुअरी महिनाको ३ तारिखमा वसन्त ऋतुको आगमनलाई स्वागत गर्न यहाँ सेचुबुन-नो-हि अर्थात् हाम्रो गाउँ घरको लुतो फाल्ने जस्तो चलन रहीआएको पाइन्छ ।節分の日 नामक यो विशेष दिन सधैँ पात्रोमा पनि उल्लेख गरिएको हुन्छ । सन् २०२३ को यो दिन आज फेब्रुअरी ३ तारिख परेको छ तर २०२१ सालमा भने यो दिन १ सय २४ वर्षपछि फेब्रुअरी ४ तारिखमा पनि परेको थियो ।

जापानी मौलिक विश्वास अनुसार यो दिनमा भूतप्रेतहरू पृथ्वीलोकमा घुम्न आउने र मान्छेहरूलाई दुःख दिने हुँदा उनीहरूलाई केही खान दिई घरबाट भगाउन भित्रबाट भुटेको भटमासले ‘ओनी वा सोत्तो फूकु वा उची’ (भूत प्रेत बाहिर, राम्रो कुरा भित्र) भन्दै भुटेको भटमास वा बदामका कोसाहरूले हालेर भगाउने चलन छ । त्यसपछि आफ्नो उमेरको संख्या जति भटमासको दाना गनेर खाए वर्षै भरी स्वास्थ्य रहिन्छ भन्ने जन विश्वाससमेत रही आएको छ।

डे- केयर सेन्टर तथा प्राथमिक विद्यालयहरूमा भूत बनेर आउने अभिभावक अथवा शिक्षक-शिक्षिकाहरूलाई भुटेको भटमास ताकि-ताकी हान्न पाउने हुँदा बच्चाहरू पनि यो दिन विशेष रमाइलोका साथ यो चलन मनाउने गर्दछन् ।

हरेक वर्ष ‘सेचुबुन-नो-हि’ को अर्को महत्वपूर्ण विशेषता भनेको एहोमाकी (恵方巻) खानु पनि हो । यो ए-हो-माकी शुसीकै अर्को प्रकार हो ।

ए-हो माकी, पकाएको भातमा समुद्री लेउ (नोरी) भित्र काँक्रो गाजर, टुना फिसर गुलियो पारेर बनाएको अण्डा फ्राई लगायत विशेष सामाग्रीहरू राखेर तयार गरिन्छ । तपाईँहरूलाई बुझ्न सजिलोको लागि तल तस्बिरमा पनि राखिएको छ ।यो दिन सबैको सु-स्वास्थको कामना गरी एहोमाकी दक्षिण पश्चिम दिशामा फर्केर खानाले सबैको सु-स्वास्थसमेत रही राम्रो भाग्य उदाउने विश्वास रही आएको छ । हामीले पनि यो वर्ष तोकिएको दक्षिण-पश्चिम दिशामा फर्किएर एहोमाकी खाँदै भुटेको भटमास वरण्डाबाट फाली भूत-प्रेत बाहिर खुसीयाली भित्र भन्दै एक वर्ष स्वास्थ्य रहने प्रार्थना गर्‍यौ ल ?

गृष्मा पौड्याल
टोकियो, जापान

तपाईको प्रतिक्रिया