बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

अहिले पेशावर लेडी रिडिङ अस्पतालमा ५७ जना घाइतेको उपचार चलिरहेको छ । १५७ जना घाइतेलाई अस्पताल ल्याइएकोमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।

प्रान्तीय राजधानी पेशावरमा सोमवार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणहरू लगातार बढिरहेको छ । मङ्गलवार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नका लागि सबै आशा गुमाएँको थिए ।’

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले ज्यान गुमाउनेमा धेरैजसो प्रहरी रहेका र जसमध्ये चार सय जना मस्जिदको कम्पाउन्डमा प्रार्थनाका लागि भेला भएका बताएका छन् । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया