शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ । सन् २०२२ मा उनको गीतलाई १५ दशमलव ३ बिलियन पटक सुनिएको हो ।

उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरू टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन् । सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो । यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन् । पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन् । यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन् ।

अलकाको गीत सन् २०२० मा १६ दशमलव ६ बिलियन पटक सुनिएको थियो । त्यस्तै सन् २०२१ मा यो आँकडा १७ दशमलव ७ बिलियन पुग्यो । सन् २०२२ मा १५ दशमलव ३ बिलियन स्ट्रीम पुगेको छ । यी सबैको औसत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ ।

अलकापछि बेड बन्नी १४ दशमलव ७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलव ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १० दशमलव ७ बिलियनका साथ चौथो नम्बरमा र ९ दशमलव ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन् ।

सूचीमा बीटीएस (७ दशमलव ९५ बिलियन) र ब्ल्याकपिंक (७ दशमलव ०३ बिलियन)का साथ उत्कृष्ट १० मा छन् । तर, टेलर स्विफ्ट ४ दशमलव ३ बिलियनका साथ २६ औं र ड्रेक २ दशमलव ९ बिलियनका साथ ५० औं नम्बरमा छन् ।

तपाईको प्रतिक्रिया