शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा छानेको छ । उक्त २८ जनामा बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

लामिछानेविरुद्ध एक नाबालिकमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विदेश रहेकै बेलामा लामिछानेविरुद्ध उजुरी परेपछि उनको कप्तान पद निलम्बनमा परेको थियो । लामिछाने उच्च अदालत, पाटनले २० लाख धरौटीमा २९ पुसमा थुनामुक्त भएका थिए ।

थुनामुक्त भएसँगै क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेर टिममा ल्याउने तयारी गरेका थिए । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करन केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी छन् । यस्तै, विनोद भण्डारी, सागर ढकाल, सुन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनास बोहरा, सुर्य तामाङ, विवेक यादव, भीम सार्की छन् ।

यसैगरी, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा परेका छन् ।

तपाईको प्रतिक्रिया