शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन् ।

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार हस्तान्तरण गरेका हुन् ।

मेयर भट्टराई र ओखावा हिदेकोबीच बिहीबार भेटघाट भएको हो । खोटाङका शैक्षिक अभियन्ता सूर्य राईले सामाजिक सञ्जालमा ‘मेयर भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, सांस्कृतिक पहिचानजन्य सामग्री जापान पुर्‍याउनु गौरवको विषय भएको’ प्रतिक्रिया दिएका छन् ।

मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत् सम्बन्ध अमर बनाउन तोचिगी आएको’ बताएका थिए । भेटघाटका क्रममा मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका भ्रमणका लागि निमन्त्रणा दिएका छन् । ‘जापानको सडक, शिक्षा, कृषि, फोहोर व्यवस्थापन र सरसफाइ, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्य बोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ,’ मेयर भट्टराईले भने, ‘यहाँ आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेको भन्दा अझ धेरै गुणा पाएँ।’ गत मंसिर ९ गतेको मन्त्रिस्तरीयनिर्णय अनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान गएका हुन् ।

मेयर भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झन्डा लहरै राखिएको थियो । भट्टराई गेटबाट प्रवेश गरेलगत्तै दायाँ-बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झन्डा हल्लाउँदै स्वागत गरेका थिए । तोचिगी नगरले मेयर भट्टराईलाई दिइएको सम्मानले गौरवान्वित बनाएको आरआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताएका छन् । तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस सञ्चालन गर्दैआएका महेश लुइँटेलले मेयर भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारी स्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिएका छन् ।

दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्बन्ध स्थापित गर्न कोसेढुंगा सावित हुने र भगिनी सम्बन्ध स्थापित हुने संकेत मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाको भनाई छ ।

मेयर भट्टराईको टोलीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तोचिगीका क्षेत्रीय अध्यक्ष मन्दीप  क्षेत्री, सामाजिक अभियन्ता निमा शेर्पा, तोचिगी प्रान्तले विदेशीहरूका तर्फबाट तोकिएका प्रतिनिधि महेश लुइँटेल, एनआरएनए क्षेत्रीय समिति तोचिगीका उपसंयोजक तथा रेडियोकर्मी पत्रकार सन्तोष घिमिरे सहभागी थिए भने भने तोचिगीका नगरप्रमुख ओखावाका साथमा तोचिगी नगरपालिकाका अन्तर्राष्ट्रिय समन्वय प्रमुख आओकी हिरोसी र निर्देशक आओकी हिरोसी नीति निर्माण विभाग प्रमुख केबुकावा वातारु, शाखा प्रमुख योसीताका ओसियामा तथा शिक्षा शाखाका उपप्रमुख केनइची यामागुची सहभागी थिए ।

जापानको तोचिगीमा विगत ८ वर्षदेखि करिब २८ भन्दा बढी मुलुकका कामदारहरूको व्यवस्थापन तथा पूर्ति गर्दै आएको हाकेन कम्पनी एसएमएस कर्पोरेशनका सञ्चालक सदस्य एवम्  प्रबन्ध निर्देशक सुरेन्द्र अधिकारी यति धेरै सरकारी स्तरबाट अत्यन्त महत्त्व दिइएको भेटघाटले सबैको शिर उँचो भएको बताउँछन् ।

तपाईको प्रतिक्रिया