काठमाडौँ – नागरिकताको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा हालका गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमाथिको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो । लामिछाने नेपाली नागरिक रहँदै गर्दा अमेरिकाको नागरिकता लिएको र अमेरिकाको नागरिकता लिने समयमा कुनै निवेदन पेस नगरेको, अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपाली नागरिकता त्याग गर्नका लागि निवेदन नदिएको र उताको नागरिकता प्राप्त गरेको कुरा गोप्य राखेको तथा अमेरिकाको नागरिकता त्याग गरेको भने पनि त्यसको निस्सा नबुझाएको कारण उनको नेपाली नागरिकता कायम नरहेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको मुद्दा पूर्ण सुनुवाइ हुन लागे लगत्तै अब कस्तो फैसला आउला भन्ने विषय चर्चामा आउन थालेको छ । सर्वोच्चले नागरिकता स्वतः कायम हुने वा स्वतः कायम नहुने मुख्यतः यी नै दुई विषयमा फैसला गर्नेछ । त्यसबाहेक फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न समेत निर्देशनात्मक आदेश दिन सक्नेछ । लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको कारण सो विषयमा अनुसन्धान गरी मुद्दा दायर गर्नसमेत सरकारलाई निर्देशनात्मक आदेश दिन सक्नेछ ।
लामिछानेको मुद्दामा सुनुवाइपछि विदेशी नागरिकता त्याग गरेको अवस्थामा स्वतः नेपाली नागरिक कायम रहने व्याख्यासहितको फैसला भएमा लामिछानेले निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरी अपराध गरेको भन्ने आरोप खण्डित हुने छ उनले दल दर्ता गरेकोदेखि सांसद र मन्त्री बनेको समेत विषयले वैधानिकता पाउनेछ । त्यसको नागरिकता निष्क्रिय भइसकेको भन्ने विवाद समाप्त हुनेछ ।
संवैधानिक इजलासबाट नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः खारेज हुने र पछि विदेशी मुलुकको नागरिकता त्याग गरेको अवस्थामा सो को निस्सा बुझाएपछि प्रक्रिया पूरा गरेर मात्रै नेपाली नागरिकता प्राप्त भएको मानिने व्याख्या गरेमा उनको सम्पूर्ण पद खारेज हुनेछ र पुनः नागरिकता प्राप्त गर्न प्रक्रियामा जानुपर्नेछ ।
त्यसबाहेक लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको कारण सो विषयमा अनुसन्धान गरी मुद्दा दायर गर्नसमेत सरकारलाई निर्देशनात्मक आदेश दिन सक्नेछ । नेपालले दोहोरो नागरिकता स्वीकार नगरेको र निष्क्रिय भइसकेको नागरिकता र पासपोर्ट प्रयोग गरेमा त्यसलाई अपराध मानिने कानुनी व्यवस्था रहेको कारण दोहोरो नागरिकता वा पासपोर्ट प्रयोग पुष्टि भएमा उनीमाथि फौजदारी कसुरमा कारबाही समेत हुन सक्नेछ ।