बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले एक–एक गोल गरे । एट्लेटिकोका अल्भारो मोराटाले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा करिम बेन्जिमा र भिनिसियस जुनियरले गोल गर्दै रियललाई जित दिलाए । खेलको ९९ औं मिनेटमा स्टेफन साभिचले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

१०४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३–१ ले नै हराएर सेमिफाइनलमा स्थान बनाएको छ । यससँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि क्याटलान क्लब बार्सिलोना र ओसासुनाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया