बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाले पाँच सय नयाँ विमान किन्ने तयारी गरेको छ । एयरबस र बोइङबाट कम्पनीले पाँच सयसम्म नयाँ विमान किन्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

टाटा ग्रुपको स्वामित्वमा आएपछि कम्पनीको तर्फबाट महत्वपूर्ण निर्णय लिइएको कम्पनीका एक स्रोतले बताएका छन् । समाचारमा उल्लेख गरिएअनुसार कम्पनीले चार सय न्यारोबडी र एक सय वा सोभन्दा धेरै वाइडबडी विमान खरिदको निर्णय भएको हो । अहिले खरिद गर्न लागिएका विमानमा एयरबस ३५० र बोइङ ७८७ र ७७७ मोडलका विमान रहेका छन् ।

यद्यपि विमान खरिदको लागि सम्झौता भने हुन बाँकी रहेको स्रोतको भनाइ छ । उक्त संख्यामा विमान खरिदका लागि करिब एक खर्ब डलरबराबरको रकम आवश्यक पर्ने अनुमान छ । यस विषयमा एयरबस र बोइङले भने प्रारम्भिक चरणमा कुरा भएको वा नभएको भन्ने विषयमा कुनै पनि जानकारी दिएका छैनन् ।

गत साता मात्र चीनले आफ्नो पहिलो सी९१९ विमानको पहिलो डेलिभरी दिएको अवस्थामा एयरबस र बोइङले ठूलो सम्झौता पाउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया