शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदरका कारण देशले काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको बताएका छन् । संसदमा आफ्नो नीतिगत मन्तव्य दिदै प्रधानमन्त्री किशिदाले जन्मदर घटिरहेको कारण देशले एउटा समाजको रूपमा काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको बताएका हुन् ।

उनले त्यसको सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता हुने बताए । झण्डै १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा गएको वर्ष आठ लाखभन्दा कम बच्चा जन्मिएको तथ्याङ्क छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए । जापानको औसत आयु भने बढिरहेको छ ।

वृद्धवृद्धाको संख्या बढ्नु र उनीहरूलाई सहयोग गर्नेहरूको सङ्ख्या घट्नुले समस्या बढिरहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताए । यसअघि पनि जापान सरकारले बच्चा जन्माउन लगाउन विभिन्न कार्यक्रम अघि सारे पनि प्रयासहरू सफल भएका छैनन् ।

तपाईको प्रतिक्रिया