शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भएर काम गरिसकेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए । श्रेष्ठले अस्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

श्रेष्ठ आर्थिक अनुसन्धान, तालिम, नीतिगत सुझाव तथा रणनीति तर्जुमाका काममा विज्ञ मानिन्छन् । उनीसँग २००६ देखि २००९ सम्म साउन ईस्ट एसिया सेन्ट्रल बैक्स रिसर्च एण्ड टे«निङ सेन्टरको वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ । वित्तीय उदारीकरण, मौद्रिक नीति, पुँजी प्रवाह, लगानी, अन्तर्राष्ट्रिय आप्रवास, गरिबी लगायतका विषयको खोज अनुसन्धानमा संलग्न श्रेष्ठको सात वटा पुस्तकहरु प्रकाशन छन् ।

म्याग्दीको सिंगामा जन्मिएका उनी साहित्यिक क्षेत्रमा मीन दन्द्धीको नामबाट चिनिन्छन् । म्याग्दीमा माओवादीको संस्थापकमध्येका श्रेष्ठ पनि एक हुन् । उनलाई माओवादी केन्द्रले गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएको थियो ।

कृषकहरूलाई समूहकृत गरी जग्गा एकीकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक कृषि तथा पशुपंक्षीपालन गर्ने कार्यलाई अघि बढाउन श्रेष्ठले गर्नुभएको परिकल्पना अनुसार म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा हरियाली मोडेलको कृषि फार्म सञ्चालन भएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरूको आम्दानी बढाउने उद्देश्य राखेर चार वर्षअघि म्याग्दीबाट शुरु भएको हरियाली परियोजना देशका अन्य जिल्लामा पनि विस्तार भएको हो ।

देशभरका सम्पूर्ण विकास योजना निर्माण र बजेटको सिमाना निर्धारण गर्ने मुख्य निकायमा म्याग्दीको उपस्थितिले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलको भनाई छ । ‘लामो समय बैंकिङ, योजना र आर्थिक नीति निर्माणको अनुभव सँगालेका श्रेष्ठ योजना आयोगको उपाध्यक्ष हुँदा यसअघि म्याग्दीका दूरगामी महत्त्वका योजना र बजेट भित्रिएर कार्यान्वयन भएका थिए,’ उनले भने, ‘सरकारले म्याग्दीलाई दिएको अवसरको सदुपयोग गर्ने वातावरण बनाउनुपर्छ ।’

यसअघि श्रेष्ठ उपाध्यक्ष हुँदा बेनी-जोमसोम-कोरला-बेनी-दरवाङ सडक लगायत म्याग्दीका दूरगामी महत्त्व राख्ने विकास आयोजनाको डिपिआर स्वीकृत, बजेट विनियोजन र कार्यान्वयन थालिएको थियो ।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

तपाईको प्रतिक्रिया