शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

टोकियो – जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताएका छन् । किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

जापानमा अहिलेपनि दैनिक १ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ । जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएका सिएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

‘कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पुर्‍याउन, हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्नेछौँ,’ किसिदाले भनेका छन् । गत अक्टोबरमा जापानले गत वर्षदेखि बन्द रहेका आफ्ना सिमाना विदेशीका लागि पुनः खोलेको थियो । सिएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो ।

कोभिड-१९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम धेरैजसो मानिसको उच्चस्तरको खोप र अघिल्लो संक्रमणबाट जनसंख्याको प्रतिरोधात्मक क्षमताका कारण धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ । आफ्नो पछिल्लो अपडेटमा कोभिड-१९ सँगको सम्पर्कमा आएका वा नजिकको सम्पर्कमा आएका मानिसहरूलाई मास्क लगाउन सिफारिस गरेको र ‘भिडभाड, घेरिएको वा कमजोर भएका जोकोहीलाई पनि मास्क लगाउन सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया