काठमाडौँ – भारतको नागरिक उड्डयन प्राधिकरण (डीजीसीए)ले एक वृद्ध महिला यात्रुलाई सह–यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना लगाएको छ। समाचार एजेन्सी एएनआईले प्राधिकरणलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेको आरोपमा जरिवाना गरिएको बताएको छ।
प्राधिकरणले सम्बन्धित एयर इन्डिया उडानका पाइलटको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ। पाइलटले आफ्नो कर्तव्य पूरा गर्न असफल भएको उसकाे निष्कर्ष छ। त्यसैगरी प्राधिकरणले एयर इन्डियाको उडान सेवा निर्देशकलाई तीन लाख रूपैयाँ जरिवाना लगाएको छ। नोभेम्बरमा भएको घटना करिब डेढ महिनापछि सार्वजनिक भएको थियो। मुद्दामा आरोपी शंकर मिश्रा पक्राउ परेका छन्। एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ। विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली जाँदै थियो। पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन्।