काठमाडौँ – प्रतिनिधिले आज नयाँ सभामुख पाउँदै छ । सभामुखको निर्वाचन बिहान ११ बजे हुँदैछ। प्रतिनिधि सभा सभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका इश्वरी न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनबाट मनोनयन दर्ता गराएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन् । घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थक रहेका छन्। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो ।