शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको आरोपमा सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपुरमा शाहमाथि मुद्दा दायर भएको थियो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपुरले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दिएपनि बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । गत फागुन ११ गते पलविरुद्ध उजुरी परेको थियो । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया